पत्रकार जमाल खशोग्गीको हत्या ढाकछोप गरेको अमेरिकी राष्ट्रपतिको आरोप

अमेरिका, ८ कात्तिक २०७५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार जमाल खशोग्गीको हत्याबारेको साउदी अरबको प्रतिक्रिया आफूलाई बचाउन ढाकछोप मात्र भएको टिप्पणी गर्नुभएको छ ।

राष्ट्रपति ट्रम्पको त्यस्तो भनाइ आएको केही समयपछि विदेशमन्त्री माइक पोम्पेओले अमेरिकाले घटनामा संलग्न भएकालाई सजाय दिने बताउनुभएको थियो ।

पोम्पेओले सन्दिग्ध २१ जनाको भिसा अमेरिकाले रद्द गर्न लागेको पनि जानकारी दिनुभएको थियो । ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भन्नुभयो, “उनीहरूको एकदम नराम्रो सोचाइ रहेछ, त्यो एकदम नराम्रो तरिकाले गरे र इतिहासकै त्यो सबैभन्दा नराम्रो ढाकछोप रह्यो ।“

यसअघि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आफ्नो सत्ताधारी पार्टीका सांसदहरूलाई सम्बोधन गर्दै पत्रकार जमाल खशोग्गीको ज्यान लिने योजना हत्या भएको दिनभन्दा निकै दिन अगाडि नै भएको आशङ्का व्यक्त गर्नुभएको थियो ।

उहाँले अक्टोबर २ गते इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासभित्र खशोग्गीको पूर्व नियोजित र ‘क्रुर‘ हत्या भएको भन्ने देखाउने टर्कीसँग बलियो प्रमाण रहेको दाबी गर्नुभएको थियो ।

उहाँले खशोग्गीको मृत्यु दुर्घटनावश भएको हुनसक्ने भन्ने संभावनालाई खण्डन गर्दै उक्त घटनाका सन्दिग्धहरू विरुद्ध इस्तानबुलमा मुद्दा चलाउने तयारी भएको बताउनुभयोे ।

तर साउदी अरबले भने पत्रकार जमाल खशोग्गीको हत्यारा जो भए पनि उसलाई कडा कानूनी सजाय हुने बताउँदै आएको छ ।

गत मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकपछि जारी गरिएको विज्ञप्तिमा खशोग्गीको हत्यामा संलग्न जो कोही भए पनि उसलाई कानूनी दायरामा ल्याइने साउदी अरेबियाले जानकारी दिएको छ ।

खशोग्गीको इस्तानबुलस्थित साउदी अरबको महावाणिज्य दूतावासमा गत अक्टोबर २ मा हत्या गरिएको थियो । तर उक्त हत्या कसले र के उद्देश्यले गरेको थियो अझै अनुसन्धानको प्रक्रियामा रहेको छ ।

 

  • 50Read This News:
  • 458853Total reads:
  • 268408Total visitors: