स्याङ्जामा असिनापानीबाट दुई करोडको सुन्तला नष्ट

स्याङ्जा, ८ कात्तिक २०७५ । असिनापानीले स्याङ्जामा रु २ करोड बढीको सुन्तला नष्ट भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोनले सङ्कलन गरेको क्षति विवरणअनुसार जिल्लाको पुतलीबजार नगरपालिकाका वडा नं १०, ११, १३ र १४ एवं भीरकोट नगरपालिकाको १ नं वडामा गरी कूल ५०९ मेट्रिकटन सुन्तला नष्ट भएको हो ।

“गत असोज २१ गते विशेषगरी पुतलीबजार नगरपालिकाका विभिन्न भेगमा ठूलो असिनापानी आयो र हामीले यस कार्यालयबाट एक हप्ताको समयमा सम्बन्धित क्षेत्रमा पुगेर क्षतिको विवरण सङ्कलन ग¥यौँ” बरिष्ठ कृषि अधिकृत मदनकुमार श्रेष्ठले भन्नुभयो, “असिनापानीले सुन्तलाबालीमा ठूलो क्षति पु¥याएको छ ।”

असिनापानीले सबैभन्दा धेरै पुतलीबजार नपा १० मा २१४, ११ नं वडामा १८६, १३ नं वडामा ८७, भीरकोट नपा १ नं वडामा ११ र पुतलीबजार १४ नं वडामा ११ गरी कूल ५०९ मेट्रिकटन सुन्तला नष्ट भएको बरिष्ठ कृषि अधिकृत श्रेष्ठले बताउनुभयो ।

बजार मूल्य प्रतिकिलो रु ४० का दरले सबैभन्दा धेरै पुतलीबजार १० मा ८५ लाख ५१ हजार २८७, ११ नं वडामा ७४ लाख ५५ हजार ७१३, १३ नं वडामा ३४ लाख ७० हजार ९७६, भीरकोट नपा १ नं वडामा चार लाख ५७ हजार ४५२ र पुतलीबजार १४ नं वडामा चार लाख ४४ हजार २४७ गरी कूल रु २ करोड ३ लाख ७९ हजार ६७५ मूल्यको सुन्तला क्षति भएको हो ।

पुतलीबजार नपा १० राङखोलाका सुन्तला व्यवसायी मुक्ति अधिकारीको १ हजार सुन्तलाका बोट छन् । अब बिक्री गर्नका लागि समय हुनै लागेका बेला एक्कासी आएको असिनापानीले उहाँको सुन्तला बगैँचामा रहेका ८० प्रतिशत सुन्तलामा क्षति पु¥याएको छ ।

“गत वर्ष २९ टन सुन्तला बिक्री गरेको थिएँ, यसवर्ष ४० देखि ४५ टन सुन्तला फलेको थियो” सुन्तला व्यवसायी अधिकारीले भन्नुभयो, “यस वर्ष असिनापानीले सुन्तला सखाप पा¥यो, झण्डै रु ३० लाखको क्षति भएको अनुमान गरेको छु ।”

गत वर्ष २ लाख ८० हजारको सुन्तला बिक्री गर्नुभएका पुतलीबजार १३ सातुपसलका अर्जुन रेग्मीलाई पनि असिनापानीले चिन्ता थपिदिएको छ । “३०० बोटमा गत वर्षभन्दा यस वर्ष सुन्तला अझै धेरै फलेको थियो”, सुन्तला व्यवसायी रेग्मीले भन्नुभयो, “असिनाले चोट पु¥याएका सुन्तला कुहिएर, ओइलिएर झर्ने क्रम जारी रहेकाले क्षतिको परिमाण अझै बढ्न सक्छ ।”

स्वादिलो सुन्तलाका रूपमा पहिचान रहेको स्याङ्जाको सुन्तला बिक्रीका लागि तयारी भइरहेका बेला असिनापानीले क्षति गरेपछि सुन्तला व्यवसायी चिन्तित छन् ।

 

  • 52Read This News:
  • 503886Total reads:
  • 307335Total visitors: