रामेछाप, २ असोज २०७५ । हत्याको आरोपमा पक्राउ परेका किशोरीलाई जिल्ला अदालत रामेछापले अनुसन्धानका लागि दश दिन म्याद थप गरेको छ ।
गत भदौ २८ गते घाँस काट्न हिँडेकी १३ वर्षीया कीशोरीले आफूमाथि जबर्जस्ती गर्न खोजेको भन्दै नाताले हजुरबुबा पर्ने रामेछापका ६५ वर्षीय पूर्णबहादुर श्रेष्ठको रडले हानेर हत्या गरेको थियो । हत्यामा प्रयोग भएको रडसहित ती किशोरीले प्रहरी चौकी रामेछापमा पुगेर त्यही दिननै आत्मसमर्पण गरेकी थिइन् ।
घटनाको विस्तृत स्थलगत अध्ययन, स्थानीयवासीसँगको सोधपुछ, किशोरीसँगको प्रारम्भिक बयानका आधारमा उनीमाथि थप अनुसन्धान गर्नुपर्ने देखिएकोले जिल्ला अदालतबाट थप दश दिनको म्याद पाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।
उहाँका अनुसार हत्या आरोपी किशोरीलाई अनुसन्धानपश्चात् थप समय आवश्यक रहेमा असोज ७ गते जिल्ला अदालतमा हाजिर गर्नुपर्नेछ । मृतक श्रेष्ठले बालिकामाथि जबर्जस्तीको प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । किशोरी अभियुक्त साबित ठहरिए पाँच महीना कैद वा एक वर्षसम्म सुधार केन्द्रमा राखिने कानूनी व्यवस्था छ ।
त्यस्तै नयाँ कानूनमा १४ वर्ष नाघेका बालबालिकाले कसुर गरेको प्रमाणित भएमा कूल सजायको आधा मात्र सजाय हुने व्यवस्था छ ।


