काश्मिरमा सेनाले चलाएको गोली लागि एक प्राध्यापकसहित १० जना मारिए

भारत प्रशासित काश्मिर, २४ वैशाख २०७५ । भारत प्रशासित काश्मिरमा सेनाले चलाएको गोली लागि काश्मिरी क्षेत्रमा सक्रिय विद्रोही संगठनको निकट मानिने एक प्राध्यापकसहित १० जना मारिएका भारतीय प्रहरीले जनाएको छ ।

काश्मिर क्षेत्रमा मारिएका एक लडाकूको समर्थनमा हजारौँको संख्यामा निस्केको जुलुसमा सहभागी हुने क्रममा विद्रोही निकट मानिने एक प्राध्यापक, पाँच जना विद्रोही लडाकू र पाँच जना स्थानीय सर्वसाधारणको मृत्यु भएको प्रहरी महानिरीक्षक शेष पाउल वेडले बताउनुभयो ।

आइतबार भएका प्रदर्शनका क्रममा सयौँ मानिस घाइते भएका छन् भने विद्रोही समूह हिजबुल मुजाहिद्दिनका उच्च कमाण्डर पनि मारिएका बताइएको छ ।

श्रीनगरको दक्षिणी क्षेत्रमा अवस्थित सोपियन जिल्लाको वाडिगाउँमा विद्रोहीहरू लुकेर बसेको भन्ने गोप्य सूचनाका आधारमा सरकारी फौज गाउँमा पसी कारबाही चलाएको र उक्त कारबाहीमा विद्रोहीसहित केही स्थानीयको मृत्यु भएको भारतीय अधिकारीले बताएका छन् ।

सेनाले विद्रोही बसेको क्षेत्रलाई घेरावन्दी गरी आत्मसमर्पण गर्न भनेको तर विद्रोहीले गोली चलाउन थालेपछि भएको व्यापक शसस्त्र झडपका क्रममा उनीहरूको मृत्यु भएको वेडले बताउनुभयो । उहाँका अनुसार शुक्रबारदेखि भूमिगत भएका समाजशास्त्रका प्राध्यापक मोहम्मद रफी भाटलाई पनि अन्य विद्रोहीलाई जस्तै आत्मसमर्पण गर्न भनिएको तर उहाँले त्यसो गर्न नमानेपछि झडपमा उहाँसहित केही विद्रोहीको मृत्यु भएको महानिरीक्षक वेडले बताउनुभयो ।

काश्मिरमा यो वर्ष सरकारी सेना र विद्रोही समूहसँग भएका झडपका क्रममा अहिलेसम्म १२० जनाको मृत्यु भएको छ । जसमध्ये २२ जना सर्वसाधारण परेका छन् भने ६७ विद्रोही र २८ सुरक्षाकर्मीको मृत्यु भएको छ ।

 

  • 27Read This News:
  • 532402Total reads:
  • 335303Total visitors: