७० वर्षीय कामीको उच्च शिक्षा पढ्ने इच्छा, छोरा साउदीको जेलमा

काठमाडौँ, १६ साउन २०७४। उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग ७० वर्षीय विद्यार्थी दुर्गे कामीले भेटी उच्च शिक्षा अध्ययनका लागि वातावरण मिलाई दिन अनुरोध गर्नुभएको छ ।

परराष्ट्र मन्त्रालायमा आइतवार मन्त्री महरालाई भेटी कामीले एसइई परीक्षा पास गरेकाले थप अध्ययनका लागि सहयोग गरिदिन आग्रह गर्नुभएको हो ।

स्याङ्जाको कालाभैरव माविबाट एसइई परीक्षा उत्तिर्ण गर्नुभएका कामीले मन्त्री महरासँग भन्नुभयो, “मलाई ११÷१२ कक्षा पढ्ने इच्छा छ, यसका लागि सहयोग गरिदिनुपर्यो” उहाँले आफू सानो छँदा विद्यालय जान नपाएको सुनाउनुभयो ।

जवाफमा मन्त्री महराले उहाँको शिक्षाप्रतिको आकांक्षालाई सम्बोधन गर्न अध्ययनका लागि आवश्यक वातावरण मिलाउन पहल गर्ने बताउनुभयो । एसइई परीक्षा उत्तीर्ण गर्नुभएकामा कामीलाई मन्त्री महराले बधाईसमेत दिनुभयो ।

कामी ६ जनाका पिता तथा ८ जनाका हजुरबुबा हुनुहुन्छ । उहाँको आकांक्षा शिक्षक बन्ने छ । सोही अवसरमा कामीले आफ्नो छोरा नरेन्द्र साउदीको जेलमा रहेको जानकारी गराउँदै नेपाल फिर्ता ल्याउन पहल गरिदिन पनि अनुरोध गर्नुभयो । उहाँले वैदेशिक रोजगारीको सिलसिलामा साउदी गएका छोरा विगत ३ वर्षदेखि जेलमा रहेको बताउनुभयो ।

“के कारणले छोरा जेलमा परेको हो, थाहा छैन,” कामीले भन्नुभयो । मन्त्री महराले नरेन्द्रको अवस्थाबारे जानकारी लिने र नेपाल ल्याउन पहल गर्ने जवाफ दिनुभयो ।

 

  • 91Read This News:
  • 482852Total reads:
  • 289034Total visitors: