मोरंग, २ साउन २०७५ । आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७४/७५ मा कूल रु ५ अर्ब २१ करोड ३३ लाख २२ हजार राजश्व संकलन गरेको छ ।
सो अवधिमा कार्यालयले रु ५ अर्ब ४६ करोड ५९ लाख ५० हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्यभन्दा रु २५ करोड २६ लाख २८ हजार राजश्व कम असुली भएको कार्यालय प्रमुख दिलीपकुमार गौतमले जानकारी दिनुभयो ।
आव २०७३/७४ मा कार्यालयले रु ४ अर्ब ४६ करोड ७२ लाख १३ हजार राजश्व असुली गरेको थियो भने गएको आवमा अघिल्लो आवको तुलनामा रु ७४ करोड ६१ लाख ९ हजार बढी राजश्व संकलन गरेको थियो ।
आव २०७४/७५ मा संकलित राजश्वमा आयकरतर्फ रु १ अर्ब ६२ करोड ३० लाख ६० हजार, बहालकर रु १० करोड ७० लाख २२ हजार, ब्याजकर रु ५ करोड ९३ लाख ११ हजार, मूल्यअभिवृद्धि कर रु १ अर्ब २१ करोड ७८ लाख ८ हजार, अन्तःशुल्क रु २ अर्ब ३५ करोड ६७ लाख ६९ हजार, स्वास्थ्य सेवा कर रु १२ करोड ३९ लाख ५१ हजार तथा शिक्षा सेवा कर रु २ करोड ७६ लाख ७८ हजार रहेको छ ।
यसैगरी मोरङमा सबै प्रकारको गरी कूल रु ४० अर्ब ४१ करोड ६० लाख ८० हजार राजश्व संकलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ । सो राजश्व कृषि विकास बैंक उर्लाबारी, कृषि विकास बैंक विराटनगर, राष्ट्रिय वाणिज्य बैंक बेलबारी र राष्ट्रिय वाणिज्य बैंक सुक्खा बन्दरगाह रानी विराटनगरबाट प्राप्त भएको कोष नियन्त्रक योगेन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो ।


