सूर्तीजन्य वस्तुको उपभोगबाट २५ हजारको मृत्यु

काठमाडौँ, ९ साउन २०७५ । नेपालमा प्रत्येक वर्ष सूर्तीजन्य पदार्थ सेवनबाट करीब २५ हजार मानिसको मृत्यु हुने गरेको छ ।

त्यस्ता वस्तुको प्रयोगबाट फोक्सो, मुटु र घाँटीमा संक्रमण भई शरीरका विभिन्न अंगमा अर्बुद रोगको संक्रमण पाइएको छ । विश्वमा प्रत्येक वर्ष एक करोड मानिसले सूर्तीजन्य पदार्थका कारण अकालमा ज्यान गुमाएको बताइएको छ ।

क्यान्सर काउन्सिल नेपालले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया तथा जनचेतनामूलक कार्यक्रममा वीर अस्पतालका क्यान्सर विशेषज्ञ प्रा डा विष्णुदत्त पौडेलले सूर्तीजन्य पदार्थको प्रयोग पाइएका कारण बिरामीको संख्या दिनप्रतिदिन बढ्दो क्रममा रहेको बताउँदै जनचेतनाका कारण फ्रान्समा एक वर्षमा दश लाख मानिसले सूर्तीजन्य पदार्थ त्यागेको जानकारी दिनुभयो ।

क्यान्सर काउन्सिलका अध्यक्ष रुद्रलाल कँडरियाले सरकारले सूर्तीजन्य पदार्थको उत्पादनलाई न्यूनीकरण गरी यस्ता वस्तुको प्रयोगमा रोकथाम गर्न देशका विभिन्न स्थानमा अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

माछापुच्छ्रे बैंक लिमिटेड, सामाजिक सेवा विभाग उपप्रमुख प्रतिमा पाण्डेले सूर्तीजन्य पदार्थ नियन्त्रणका लागि आफ्नो संस्थाले क्यान्सर काउन्सिलसँग सहकार्य गरी राष्ट्रव्यापी रुपमा अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । शिक्षक गगनसिंह ऐरले सूर्तीजन्य पदार्थ रोकथामका लागि विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक र अभिभावकलाई त्यसबाट उत्पन्न हुने विभिन्न रोगबारे जानकारी गराउनुपर्ने औँल्याउनुभयो ।

 

  • 37Read This News:
  • 484428Total reads:
  • 289788Total visitors: