सामाजिक सञ्जाल/अनलाइनमार्फत अफवाह फैलाउने पक्राउ

काठमाडौँ, १६ साउन २०७५ । बलत्कारको घटना सम्बन्धमा झूटो खबर फैलाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एक अनलाइनका अध्यक्ष एवं प्रबन्ध निर्देशक एञ्जिला सापकोटालाई आज काठमाडौँबाट पक्राउ गरेको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ मा यही साउन ११ गते भएको बलात्कारको घटना सम्बन्धमा आरएम खबर डटकममार्फत सापकोटाले ‘यिनै हुन १४ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गर्ने प्रहरी, सक्दो शेयर गर्नु होला’ भन्ने शीर्षकको भ्रामक सामग्रीसहित प्रहरीको पोशाक लगाएको व्यक्तिको फोटो र मृतकको फोटोसमेत पोष्ट गरी सामाजिक सञ्जालमार्फत शेयर गरेपछि उनलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

घटनाको अनुसन्धान भइरहेको र घटनाम संलग्न व्यक्ति हालसम्म खुल्न नआएको अवस्थामा सामाजिक सञ्जालमार्फत संवैधानिक मौलिक हकको समेत प्रतिकूल हुने बलत्कार जस्तो संवेदनशील घटनबारे अफवाह फैल्याइएकाले सापकोटालाई विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाहीको प्रक्रिया अगाडि बढाएको ब्यूरोका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिनुभयो । उक्त अनलाइन प्रेस काउन्सिलमा दर्तासमेत नभएको सिआइबीको भनाइ छ ।

 

  • 39Read This News:
  • 503788Total reads:
  • 307238Total visitors: