सप्तरी जिल्ला पूर्ण रुपमा बन्द, अवस्था तनावपूर्ण

सप्तरी, २४ फागुन २०७३ । प्रहरीको गोली लागेर मधेसी मोर्चा कार्यकर्ताको मृत्यु भएको विरोध एवम् आक्रोशमा मधेसी मोर्चाले आज अह्वान गरेको बन्द कार्यक्रमअन्तर्गत सप्तरी जिल्ला पूर्णरुपमा बन्द भएको छ ।

बन्दका कारण यातायात, कलकारखाना, उद्योग, शैक्षिक संस्था बन्द भएका छन् । आक्रोशित मधेसी मोर्चा कार्यकर्ता आज बिहानैदेखि सप्तरी सदरमुकाम राजविराजलगायत भारदह, कञ्चनपुर, रुपनी, कल्याणपुरलगायतका बजार क्षेत्रमा टायर बालेर प्रदर्शन गर्नुका साथै बन्द गराउँदै हिँडेको पाइएको छ ।

नेकपा (एमाले)को मेची–महाकाली अभियानअन्तर्गत सप्तरीको राजविराजस्थित औद्योगिक क्षेत्रमा हिजो आयोजना गरिएको जनसभालाई बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्तामाथि प्रहरीले गोली चलाउँदा सोमबार तीनजना मोर्चा कार्यकर्ताको मृत्यु भएको थियो भने २ दर्जन कार्यकर्ता घाइते भएका थिए । गोली लागेर गम्भीर घाइते ७ जनाको अवस्था गम्भीर रहेको मोर्चाले जनाएको छ ।

उनीहरुको धरानस्थित बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने अन्यको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

फलस्वरुप सप्तरीको अवस्था आज बिहानैदेखि तनावपूर्ण रहेको छ ।

यसैबीच, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीको आकस्मिक बैठक राजविराजमा सुरु भएको मोर्चाका नेता गजेन्द्र मण्डलले बताउनुभयो । हिजोभएका घटनाका कारण राजविराज आज शोकमग्न रहेको छ ।

 

  • 27Read This News:
  • 483770Total reads:
  • 289402Total visitors: