वेलायत, २ असार २०७४। लण्डनको २४–तले भवनमा लागेको आगलागीमा परी ३५ जना हराइरहेका छन् भन अहिले सम्म कम्तिमा १७ जनाको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने प्रहरी अधिकारीले बताएका छन् ।
फाराह हाम्दान, उहाँको श्रीमान् ओमार बेल्काडी र उहाँहरुको छ महिने छोरीका बारेमा अहिले सम्म पनि केही थाहा पाउन नसकिएको फाराहका बुबा रकिअले बताउनु भयो ।
“हामी सवै अस्पतालमा छौं, हामीले सवै समय उनीहरुलाई खोजिरहेका छौं, तर अहिले सम्म पनि उनीहरुलाई पाउन सकिरहेका छैनौं,” उहाँले भन्नुभयो ।
घटनामा परी बेपत्ता भएका मध्ये २७ बर्षिय माक्रो गोर्टाडी र ग्लोरी ट्रेभिसानको इटालीको एउटा जोडी पनि रहेको छ । उनीहरुको मृत्यु नै भएको हुन सक्ने आफन्तले अनुमान गरेका छन् । उनीहरु चित्रकार थिए । गत ३ हप्ता अगाडी मात्रै उनीहरु लण्डन आएको आफन्तहरुको भनाई छ ।
इटालीको एउटा समाचारपत्रले लेखेको छ, “गोर्टाडीले आफ्नो बुबासँग कुराकानी गरिरहेका बेला धुवा बढ्दै गइरहेको बताउनु भएको थियो, त्यही बेला फोन सम्पर्क विच्छेद भयो । ” पत्रिकाले त्यो जोडी भवनको २३औ तलामा बस्ने गरेको पनि उल्लेख गरेको छ ।
आवासीय भवनमा आगलागीमा परी दर्जनौँ घाइते भएका र ५० व्यक्तिलाई उपचारार्थ अस्पताल लगिएको छ ।
उद्वारकार्य जारी रहेको र सो भवनभित्र करिब २०० जनाले बसोबास गर्दै आएको अनुमान गरिएको छ ।
प्रहरीका अनुसार सयौँको सङ्रख्यामा बसोबास गरिरहेका कैयौँ व्यक्ति थुनिएर रहेको आशङ्का गर्दै १०० भन्दा बढी अग्निनियन्त्रक परिचालन गरिएको छ । आगलागीको कारण अझै प्रष्ट नभएको र अनुसन्धान जारी रहेको जनाइएको छ ।


