रसिया, ५ चैत २०७४ । रुसको राष्ट्रपतिमा पुनः वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन नै निर्वाचित हुनुभएको छ ।
रसियामा अधिकांश मत गनिसक्दा उहाँको मात्र लगभग ७५ प्रतिशत मत देखिएको छ ।
विपक्षीको भन्दा निकै ठूलो मतान्तरले उहाँले पुनः रुसको राष्ट्रपतिमा जित हासिल गरेकोछ ।
रसियाको केन्द्रीय निर्वाचन आयोगले औपचारिक रुपमा घोषणा गर्न बाँकी नै छ तरपनि पुटिन ७५ प्रतिशत हाराहारीमा मत हासिलगर्दै जित सुचिश्चित गर्नुभएकोछ ।
राष्ट्रपतीय चुनावमा यो उहाँको अपेक्षित नै जित हो । यससँगै अब रुसी राष्ट्रपतिका रुपमा पुटिनले थप छ वर्ष रुसलाई नेतृत्व प्रदान गर्नुहुने भएको बताइएको छ ।
त्यहाँका प्रमुख विपक्षी नेता एलेक्सेइ नाभाल्नीले भने निर्वाचनमा उठ्न पाएका थिएनन् । निर्वाचनसम्बन्धी कानुन देखाएर उहाँलाई चुनावमा उठ्न नै रोक लगाइएको थियो ।
आइतबार रुसमा राष्ट्रपति पदका लागि मतदान भएको थियो ।
यो उहाँको चौथो कार्यकाल हो ।
यस पटकको राष्ट्रपति निर्वाचनमा पुतिनसहित ८ जना उम्मेदवार थिए । तर उहाँपछि मत ल्याउने अर्थात् उहाँका निकटतम प्रतिद्धन्दी भने पावेल रुदिनिन हुनुहुन्थ्यो ।
पुटिनका निकटतम प्रतिद्घन्दी रुदिनिनले १२ प्रतिशत मात्र मत प्राप्त गर्नुभएको छ । यसलाई कतिपयले भने अस्वाभाविक मत पनि भनेका छन् ।
यसैगरी यस निर्वाचनका अरु प्रतिशपर्धि मध्य एकजनाले ६ प्रतिशत मात्र मत हासिल गरेका छन् । त्यस्तै अरुले २ र ४ प्रतिशत मात्र मत ल्याएका छन् ।
रुसको राष्ट्रपति पदका लागि यो जित एक किसीमले भन्ने हो भने पहिल्यैदेखि अपेक्षितजस्तो नै थियो । तर पनि यसपटकको मत भने उहाँको अस्वभाविक धेरै आएको छ ।
अधिकारीहरु भन्छन्— सन् २०१२ मा पुटिनले ६४ प्रतिशतमात्र मत प्राप्त गर्नुभएको थियो । तर यसपालि ७५ प्रतिशतको हाराहारीमा हुनसक्छ ।
पुटिनले रुसलाई सन् १९९९ देखि नै नेतृत्व गर्दै आउनुभएको छ । पछिल्ला सर्वेक्षणहरुले उहाँलाई थप लोकप्रिय भएको देखाएका छन् भने कतिपयले यसलाई लोकप्रियता भन्दा बढी प्रभाव जमाएको भन्न रुचाउँछन् ।
यस पटकको निर्वाचनमा क्रेम्लिनले अपेक्षा गरेकोभन्दा मत भने कम खसेको थियो । आइतबारको निर्वाचनमा ६४ प्रतिशत भन्दा थोरैमात्र बढी मत खसेको थियो ।
राष्ट्रपति पुटिनको चुनावी अभियान टोलीका सदस्यहरुले उहाँले प्राप्त गरेको मत अपेक्षित नै रहेको भन्दै यो जनादेश पुटिनलाई भविष्यमा आवश्यक निर्णय गर्न र निर्वाध रुपमा सरकार चलाउन सहज हुने प्रतिक्रिया दिएका छन् ।
जनताले मेरो कामको अनुमोदन गरे— राष्ट्रपति पुटिन
चुनावको नतिजा जितको निश्चित आएपछि पुटिनले मस्कोमा आफ्ना समर्थकहरुको एक सभालाई सम्बोधन गर्नुभएको छ ।
त्यस सम्बोधनमा उहाँले आफूले विगतमा देश र जनताको लागि उपलब्धिमूलक काम गरेकोले देशबासीहरूले आफ्नो सो कार्यको अनुमोदन गरेको बताउनुभएको थियो ।
उहाँले रुसले गएका केही वर्षयता अभूतपूर्व आर्थिक विकास गरेको बताउनुभयो । उहाँको भनाई थियो— मेरो निर्वाचनको एजेण्डा पनि यही नै थियो, मेरो कार्यकालमा रसियाको आर्थिक बृद्धि भएको छ त्यसैले देशको भविश्यका लागि मतदान गर्नुहोस् भनेर जनतासँग अपिल गरेको थिएँ ।
यस जितपछि आफूमाथि देशको थप प्रगति र विकासका लागि जिम्मेवारी बढेको जानकारी दिनुभयो । उहाँले सबैका सहयोगले सुन्दर र प्रिय देश रुसलाई राम्रो बनाउने धारणा पनि राख्नुभयो ।


