राजश्व सङ्कलनमा वृद्धि

दाङ, २५ मङ्सिर २०७५ । आन्तरिक राजश्व कार्यालय तुलसीपुरले चालु आर्थिक वर्षको हालसम्ममा रु ७२ करोड २७ लाख ४८ हजार राजश्व सङ्कलन गरेको जनाएको छ । सो अवधिमा रु ६७ करोड ९६ लाख ४९ हजार राजश्व उठाउने लक्ष्य लिएको कार्यालयले लक्ष्यभन्दा बढी अर्थात रु ४ करोड ३० लाख ९९ हजार राजश्व सङ्कलन गर्न सफल भएको हो ।

कार्यालय प्रमुख लीलाप्रसाद शर्माले दिनुभएको जानकारी अनुसार यसरी सङ्कलन भएको राजश्वमा सबैभन्दा बढी आयकरतर्फ रु २७ करोड ३७ लाख ४३ हजार, त्यस्तै मूल्य अभिवृद्धि करतर्फ रु २६ करोड १८ लाख ७५ हजार, घरबहाल करतर्फ रु २ करोड ५४ लाख ८३ हजार राजश्व सङ्कलन भएको छ ।

त्यस्तै अन्तःशुल्क करतर्फ रु १४ करोड ४९ लाख सात हजार, ब्याज करतर्फ रु १ करोड १२ लाख ३४ हजार, शिक्षा शुल्क करतर्फ रु ३२ लाख ७२ हजार र स्वास्थ्य सेवा करतर्फ रु २२ लाख ३४ हजार राजश्व सङ्कलन भएको हो ।

कार्यालय प्रमुख शर्माले विभिन्न जिल्लामा एकीकृत घुम्ती कर शिविर सेवा सञ्चालन हुनु, यस क्षेत्रमा विकास निर्माणका कामले तीव्रता पाउनु, करदातामा कर तिर्नुपर्छ भन्ने भावनाको विकास हुनु, सरकारले पनि राजश्व सङ्कलन वृद्धिका लागि विभिन्न नीति एवं अभियान सञ्चालन गर्नु जस्ता गतिविधिले राजश्व सङ्कलन वृद्धि भएको बताउनुभयो । हाल सो कार्यालयअन्तर्गत दाङ, प्यूठान, रोल्पा लगायतका जिल्लामा जम्मा ७२ हजार ३३३ करदाता रहेका छन् ।

 

  • 63Read This News:
  • 503612Total reads:
  • 307084Total visitors: