मार्कस र माओत्सेतुङबारेका पुस्तक सार्वजनिक

काठमाडौँ, ९ जेठ २०७५ । साम्यवादका प्रणेता कार्ल मार्कसको २००औँ जन्मोत्सवका अवसरमा ‘युवा पाठकका लागि कार्ल मार्कस’ र ‘माओत्सेतुङबारे अध्ययन’ नामक दुई पुस्तकको मंगलवार काठमाण्डौमा विमोचन भएको छ ।

चिनियाँ समाजवादी विचार अध्ययन विभागका कार्यकारी उपप्रमुख हान यु हाईले लेख्नुभएको चिनियाँ भाषाका ती कृति नेपाली भाषामा अनुवाद गरी ‘करेन्ट पब्लिकेशन नेपाल’ले बजारमा ल्याएको हो । ती पुस्तकमा मार्कसका सिद्धान्त र उनको जीवनी तथा चिनियाँ कम्युनिष्ट आन्दोलनका नेता माओत्सेतुङले व्यवहारमा उतारेका कुरा र चिनियाँ कम्युनिष्ट आन्दोलनको सफलतापछि चीनले कसरी आर्थिक विकास ग¥यो भन्ने विषयमा वर्णन गरिएको छ ।

सन् १९१२ मा कलिलो उमेरमा कम्युनिष्ट आन्दोलनमा प्रवेश गर्नुभएका माओ नेतृत्वको चिनियाँ क्रान्ति सन् १९४९ मा सफल भई जनगणतन्त्र घोषणा भएको थियो । सन् १९६० मा नेपालका प्रधानमन्त्री बिपी कोइराला तथा सन् १९६१मा राजा महेन्द्रले चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओसँग भेट गरी नेपाल–चीनबीचको सम्बन्धलाई थप प्रगाढ बनाएका थिए ।

ती पुस्तकको विमोचन गर्दै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मार्कस र माओत्सेतुङका ती पुस्तकमा चिनियाँ क्रान्तिमा माओत्सेतुङको भूमिका र चीनले गरेको आर्थिक विकासका बारेमा धेरै कुरा व्यक्त भएको विचार व्यक्त गर्दै माओले मार्कसवादलाई व्यवहारमा प्रयोग गरेको बताउनुभयो ।

नेपालका लागि चिनियाँ राजदूत यु होङले मार्कसको २००औँ शतवार्षिकीको अवसरमा पुस्तक बजारमा ल्याउन पाएकामा खुशी व्यक्त गर्दै मदन भण्डारीको उदय हुँदा नेपालमा कार्ल मार्कस जीवित रहेको भनाइ आएको प्रसङ्ग उल्लेख गर्नुभयो ।

चीनका लागि नेपालका राजदूत लीलामणि पौडेलले नेपाल–चीन सम्बन्ध प्राचीनकालदेखि जनस्तरमा रहेको र नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध भएको बताउनुभयो । वरिष्ठ पत्रकार मल्ल के सुन्दरले चीनको विकासबाट शिक्षा लिई नेपाल पनि आर्थिक समृद्धिका लागि लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

चिनियाँ बाल पुस्तक प्रकाशन समूहका प्रधानसम्पादक च्याङ स्याओ नान, पेचिङ विश्वविद्यालयका प्रा हान यु हाई, नेकपा (माले)का महासचिव सिपी मैनाली, चीन अध्ययन केन्द्रका महासचिव उपेन्द्र गौतमलगायतले नेपाल–चीन सम्बन्ध र चीनको आर्थिक विकासबाट नेपालले सिक्नुपर्ने विविध पक्षका बारे प्रकाश पार्नुभयो ।

 

  • 57Read This News:
  • 502057Total reads:
  • 305572Total visitors: