महँगो भएपछि जनताले किन्न छाडे डोल्पावासीले खाद्य संस्थानको चामल

डोल्पा, ९ साउन २०७५ । हिमाली जिल्ला डोल्पामा सरकारले दिने अनुदानको चामल महँगो भएपछि जनताले किन्न छोडेका छन् ।

दुर्गम तथा हिमाली जिल्लामा सरकारले अनुदानमा नेपाल खाद्य संस्थानको चामल वितरण गर्ने गरे पनि महँगो हुने भएपछि जनताले किन्न छोडेका छन् । जापान सरकारले अनुदानमा दिने गरेको जापानी चामलको मूल्य बजारको चामलभन्दा पनि महँगो भएपछि जनताले खाद्यान्नको जापानी चामल किन्न नमानेका हुन् ।

प्रतिकेजी रु ६५ मा बिक्री गर्न केन्द्रले मूल्य निर्धारण गरेपछि महँगो भन्दै जनताले किन्न नमानेको नेपाल खाद्यसंस्थान डोल्पा शाखाले जानकारी दिएको छ । जिल्लाको दुनै शाखा, सर्मी डिपो र जुफाल डिपोमा आएको ३ हजार ५ सय १५ क्विन्टल जापानी चामल बिक्री हुन सेकेको छैन ।

विसं २०७२/७३ मा रु ५० प्रतिकेजीमा बिक्री भएको जापानी चामल यस वर्ष एकै पटक प्रतिकेजीमा रु १५ वृद्धि भई ६५ मा पुगेपछि महँगो भएको भन्दै जनताले किन्न नमाने पछि बिक्री नभएको नेपाल खाद्य संस्थान डोल्पा शाखाका प्रमुख हरिप्रसाद जोसिले जानकारी दिनुभयो ।

जनताले जापानी चामल किन्न नमाने पछि मूल्य समायोजनका लागि जिल्ला समन्वय समितिले आपूर्ति मन्त्रालय र नेपाल खाद्य संस्थानमा पत्राचार गरेको जिल्ला समन्वय प्रमुख शेरबहादुर बूढाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सरकारले जनताका लागि दिएको अनुदानको चामल नै बजारको भन्दा महँगो भयो, जनताले किन्न सक्दैनन् ।”

शाखा प्रमुख जोसिका अनुसार संस्थानको चामल अलि महँगो छ तर बजारको चामलको भन्दा राम्रो गुणस्तर अनुदानमा दिने चामलमा छ ।

हाल डोल्पाको शाखा र डिपोबाट सोना मनसुली प्रतिकेजी रु ६०, मध्यम रु ६०, मकवानपुरे रु ५२, मोटा रु ५१, जिरा मसिनो रु ७०, गोरखनाथ रु ६५ र उसिना रु ३५ प्रतिकेजीमा नेपाल खाद्य संस्थानले जनतालाई बिक्री गर्दै आएको छ ।

सबै जनतासँग महँगो चामल किन्नको लागि पैसा नहुने भएकाले जति सक्दो सस्तो चामल रोज्नु परेको स्थानीय धनरुपे कामीले आफ्नो वास्तविकता सुनाउनुभयो । उहाँले भन्नुभयो, “छाँक टार्नकै लागि खाद्यान्नको चामल किन्नुपर्छ, तर खाद्यान्नकै चामल महँगो भयो, किन्ने क्षमता छैन ।”

“सरकारले दिने चामल बजारको सरह नै भयो हामीजस्ता गरीबका लागि सरकारले दिने र बजारको चामलमा कुनै परक छैन, धनरुपेले भन्नुभयो – जतिनै जातका चामल दिए पनि महँगो भएपछि कागलाई बेल पाक्यो हर्ष न विस्मात् ।

डोल्पा जिल्लाको लागि आव २०७४/७५ मा २४ हजार २०० क्विन्टल चामल ढुवानी हुनुपर्नेमा १६ हजार ७०९ क्विन्टल मात्र ढुवानी भएको छ । नेपालगञ्ज, दाङ, सुर्खेत र जुम्लाबाट तीन वटा ठेकेदारले डोल्पाको लागि ढुवानी गर्ने जिम्मा लिए पनि आव सकिदासमेत ढुवानी पूरा गर्न सकेका छैनन् ।

यातायातको समस्या सडक जोखिम र खच्चडबाट ढुुवानी गर्नुपर्ने बाध्यता रहेकाले ढिलाइ हुने गरेको इन्द्रदीप क्न्सट्रक्सन, सिद्धार्थ ढुवानी सेवा र ओमजयदुर्गे ढुवानी सेवाले जनाएको छ ।

हाल जिल्लामा ढुवानी भएको चामलमा १ हजार २ सय ६९ क्विन्टल चामल मात्र मौज्जाद रहेको र त्यसमध्ये लगभग १ हजार २०० क्विन्टल जापानी चामल नै रहेको नेपाल खाद्यसंस्थान शाखा कार्यालय डोल्पाले जनाएको छ ।

जापानी मात्र नभएर सरकारले अनुदानमा दिने सबै जातका चामलको मूल्य महँगो भएको कारण समायोजन हुनुपर्ने माग जनताको छ । जनताको लागि अनुदान भन्ने मात्र गरेको तर व्यापारीशैलीमा चामल जनतालाई बिक्री गरेको जनताको आरोप छ ।

 

  • 24Read This News:
  • 484224Total reads:
  • 289683Total visitors: