मयुर यातायात प्रालिलाई बनेपासम्म रुट परिमिट दिएको विरोधमा भक्तपुर यातायात व्यवसायीको विरोध

भक्तपुर, १९ चैत २०७४ । यहाँको ग्रामीण क्षेत्रमा चल्ने सार्वजनिक यातायात सेवा आजदेखि अनिश्चितकालका लागि बन्द भएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आह्वानमा १३ वटा बस व्यवसायी समिति आबद्ध रहेको कोटेश्वरपूर्व यातायात समन्वय समितिको निर्णयबाट आइतवारदेखि ग्रामीण क्षेत्रमा सञ्चालन हुँदै आएको यातायात सेवा ठप्प पारेको छ ।

भक्तपुरको दुवाकोट, चाँगुनारायण, झौखेल, छालिङ, सिपाडोल, बागेश्वरी, तेलकोट, नगरकोट, सिपाडोल डोलेश्वर, बालकोट सिरुटार, च्यामासिंह, ताँथलीलगायतका ग्रामीण रुटमा सञ्चालित यातायात सेवा आजदेखि बन्द गरिएको भक्तपुर मिनिबस सेवा समितिका सचिव प्रकाश बस्नेतले जानकारी दिनुभयो ।

भक्तपुरका ग्रामीण रुटमा भक्तपुर मिनिबस सेवा समिति, मध्य उपत्यका बस व्यवसायी संघ, मध्यपुर सद्भाव समिति, नयाँ बाटो ठिमी सद्भाव समिति, उत्तर–पूर्वी यातायात संघले सेवा सञ्चालन गर्दै आएका छन् । मयुर यातायात प्रालिलाई बनेपासम्म रुट इजाजत दिएको विरोधमा यातायात व्यवसायी संघ र समितिले सार्वजनिक सवारीको सेवा बन्द गरेको हो ।

उहाँले भन्नुभयो, “बाटो बिग्रिएको र जोखिम भएको ग्रामीण क्षेत्रमा हामी बस चलाउने अनि सुगम र चिल्लो सडकमा नयाँलाई रुट परमिट दिने ? यो प्रवृत्तिको अन्त्य गर्न हामीले अनिश्चितकालका लागि ग्रामीण क्षेत्रमा यातायात सञ्चालन ठप्प पारेका हौँ, हाम्रो माग पूरा नभएसम्म बस चलाउँदैनौँ ।”

समितिका अध्यक्ष दिनेश प्रधानले यातायात व्यवसायीको आन्दोलन आलोपालो प्रणाली लाद्न नभई ग्रामीण क्षेत्रमा पनि साझा यातायात र मयुर बसले सेवा दिनुपर्छ भन्ने माग राखेको बताउनुभयो ।

आइतवारदेखि भक्तपुर र काभ्रेका ग्रामीण क्षेत्रमा जाने सार्वजनिक यातायात सञ्चालन बन्द गरेको बताउँदै उहाँले आज विहान ९ देखि १० बजेसम्म १ घण्टा र चैत २१ गतेदेखि कोटेश्वरबाट अरनिको राजमार्ग भएर चल्ने सबै सार्वजनिक सवारी बन्द गर्ने उहाँले बताउनुभयो । यातायात सेवा सञ्चालन नभएपछि ग्रामीण क्षेत्रका यात्रुले सास्ती झेल्नुपरेको छ ।

 

  • 48Read This News:
  • 509022Total reads:
  • 312315Total visitors: