भूकम्पको पुनर्निर्माणसम्बन्धी जानकारी अव मोबाइल एप्समा

काठमाडौँ, २६ वैशाख २०७४। भूकम्पपीडित जनताले मोबाइल एप्समार्फत नै भूकम्पको पुनर्निर्माणसम्बन्धी जानकारी पाउने भएका छन् ।

भूकम्पपछि नेपालमा काम गरिरहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था बिल्ड चेन्ज नेपालद्वारा निर्माण गरिएको मोबाइल एप्समा पुनर्निर्माण प्राधिकरणले गरिरहेको काम, अडियो, भिडियो, भूकम्प प्रतिरोधी भवन निर्माणबारे सूचना, नयाँ निर्माण गरिने भवनको नक्सा, पुनर्निर्माणका लागि सरकारी मान्यताप्राप्त सिकर्मी, डकर्मीलगायतको तथ्याङ्क समावेश गरिएको छ ।

यस्तै एप्समा सरकारी अनुदान प्राप्त गर्न पालना गर्नुपर्ने नियम, प्राविधिक सल्लाह, गुणस्तरीय सामान, निर्माण शैली, निर्माणस्थलको सुरक्षा तथा सम्पर्क विवरणजस्ता कुरालाई समेटिएको छ ।

सो मोबाइल एप्सको आज सार्वजनिक गर्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्राडा गोविन्दराज पोखरेलले भूकम्पपछिको पुनर्निर्माणमा सोचेजस्तो प्रगति हासिल गर्न नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “दक्ष जनशक्ति देशमा हुन नसक्दा भूकम्पपछिको पुनर्निर्माणमा ढिलाइ भएको छ ।”

प्रमुख कार्यकारी अधिकृत प्राडा पोखरेलले स्थानीय तहको निर्वाचन भएपछि प्राधिकरणलाई भूकम्प पुनर्निर्माण कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

बिल्ड चेन्ज नेपालका देशीय निर्देशक नोल तूफानीले नेपालको दुःखमा साथ दिन पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले भूकम्पको पुनर्निर्माणमा आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

  • 44Read This News:
  • 510136Total reads:
  • 313404Total visitors: