भरतपुर महानगरपालिकाद्वारा तीनपाङ्ग्रे सवारी साधन सञ्चालनमा रोक

चितवन, १ साउन २०७५ । भरतपुर महानगरपालिकाले आफ्नो क्षेत्रमा सवारी दुर्घटना बढाएको जनाउँदै मुख्य शहरी क्षेत्रमा तीनपाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाएको छ ।

यही साउन ५ गतेदेखि राजमार्ग, बाइपास सडक र मुख्य शहरी क्षेत्रमा दिउँसो र राति तीनपाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाइएको हो । जेठ अन्तिम साता नै सर्वदलीय बैठकले उक्त निर्णय गरेको थियो ।

महानगरपालिका प्रमुख रेणु दाहालले केही सीमित ठाउँबाट बाटो काट्न दिइने भए पनि पोखरा बसपार्क, पुल्चोक, शहीदचोक, लायन्सचोक, क्याम्पस गेट, चौबीसकोठी, हाकिमचोक, बसपार्क चोक हुँदै वाइपास सडक तथा नारायणगढ बजारको मिलनरोडलगायत मुख्य शहरी क्षेत्रमा तीनपाङ्ग्रे सञ्चालनमा रोक लगाइएको बताउनुभयो । भित्री सडकमा भने तीनपाङ्ग्रे सञ्चालन गर्न सकिने छ ।
महानगरपालिकाका इञ्जिनीयर विराट घिमिरेले इ–रिक्सा, ट्याम्पो, अटो रिक्साजस्ता तीनपाङ्ग्रे सवारीलाई निषेध गरिएकाले प्रमुख शहर र बजार क्षेत्र व्यवस्थित हुने बताउनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जिल्लामा पाँच हजार हाराहारीमा तीनपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रहेको र यसबाट धेरै दुर्घटना हुने गरेको छ भन्दै उहाँले सीमित ठाउँबाट बाटो काट्न दिएर राजमार्ग र वाइपास सडकमा सञ्चालनमा रोक लगाइएको बताउनुभयो ।

तीनपाङ्ग्रे सवारी साधनले जथाभावी बाटो काट्ने, साइड नदिने, तीव्र गतिमा चलाउने जस्ता कारणले जिल्लामा हुने बढी दुर्घटना हुने गरेको छ । महानगरपालिकाका उपप्रमुख पार्वती शाहले मुख्य शहरी क्षेत्रमा फुटपाथ बन्नाका साथै कार पार्किङ व्यवस्थापन भएपछि बजार व्यवस्थित हुने बताउनुभयो । केही समयपछि मोटरसाइकल पार्किङ पनि व्यवस्थित गराइने बताइएको छ ।

 

  • 50Read This News:
  • 557017Total reads:
  • 356476Total visitors: