भक्तपुर जिल्लाका संस्थागत विद्यालयको शुल्क निर्धारण

भक्तपुर, ५ वैशाख २०७४। जिल्ला शिक्षा कार्यालय भक्तपुरले जिल्लामा रहेका संस्थागत विद्यालयको शुल्क निर्धारण गरेको छ ।

जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझीको संयोजकत्वमा बसेको विद्यालय वर्गीकरण एवम् शुल्क अनुगमन समितिको बैठकले जिल्लामा रहेका क, ख, ग र घ श्रेणीका विद्यालयको शुल्क निर्धारण गरेको हो ।

संस्थागत विद्यालयले पेस गरेको शुल्क प्रस्ताव विश्लेषण गर्दै शैक्षिक सत्र २०७४ मा भक्तपुर जिल्लामा वर्गीकरण गरिएका विद्यालयले श्रेणीगत रुपमा शुल्क सीमा निर्धारण गरिएको जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझीले जानकारी दिनुभयो ।

जसअनुसार प्रावि तहको कक्षा १ देखि ५ सम्म बढीमा ‘क’ श्रेणीले रु २ हजार ३६०, ‘ख’ श्रेणीले रु १ हजार ९६०, ‘ग’ श्रेणीले रु १ हजार ५७० र ‘घ’ श्रेणीले रु १ हजार १८० सम्म शुल्क लिन पाउने व्यवस्था गरेको छ ।

त्यसैगरी निमावि तहका लागि कक्षा ६ देखि ८ सम्म बढीमा ‘क’ श्रेणीले रु २ हजार ७००, ‘ख’ श्रेणीले रु २ हजार २५०, ‘ग’ श्रेणीले रु १ हजार ७९० र ‘घ’ श्रेणीले रु १ हजार ३५० शुल्क लिन पाउने व्यवस्था गरेको छ ।

मावि तहको कक्षा ९ र १० को हकमा भने बढीमा ‘क’ श्रेणीले रु ३ हजार ६७०, ‘ख’ श्रेणीले रु ३ हजार ६०, ‘ग’ श्रेणीले रु २ हजार ४४० र ‘घ’ श्रेणीले रु १ हजार ८३० शुल्क लिन पाउने व्यवस्था गरेको रायमाझीले जानकारी दिनुभयो ।

त्यसभन्दा बढी रकम र अतिरिक्त रकमका नाममा अनावश्यक रकम सङ्कलन गरेमा त्यस्ता विद्यालयलाई कडा कारबाही गरिने बताउँदै रायमाझीले त्यस्ता विद्यालय भए कार्यालयमा उजुरी गर्न समेत अभिभावक वर्गलाई आग्रह गर्नुभयो ।

प्याब्सन जिल्ला अध्यक्ष श्रीकृष्ण केसी, नेशनल प्याब्सनका अध्यक्ष जिवी खड्का, अभिभावक सङ्घ भक्तपुरका अध्यक्ष रामकृष्ण प्रजापति, जिल्ला समन्वय समितिका प्रतिनिधि माधवप्रसाद घोरसाइने, इशान अध्यक्ष पुरुषोत्तम ग्वाछा, विमलप्रसाद निरौला विद्यालय निरीक्षक, राष्ट्रिय अभिभावक सङ्घ भक्तपुरका अध्यक्ष वासुदेव खड्का, जिशिका शाखा अधिकृत मोतिलाल महातारालगायतको सहभागिता बसेको बैठकले शुल्क निर्धारण गरेको हो ।

 

  • 41Read This News:
  • 509803Total reads:
  • 313075Total visitors: