बेलायतले ईयूबाट बहिर्गमन प्रक्रिया औपचारिक रुपमा मार्च २९ मा शुरु हुने

बेलायत, ७ चैत २०७३ । बेलायत सरकारले युरोपियन युनियन (ईयू) बाट बेलायतको बहिर्गमन हुने प्रक्रियालाई औपचारिक रुपमा यही मार्च २९ गते सुरु गर्ने जनाएको छ ।

बहिर्गमन प्रक्रियालाई औपचारिक रुपमा यही मार्च २९ मा सुरु गरी कम्तिमा दुई वर्षभित्र बहिर्गमनका महत्वपूर्ण मुद्दाहरुलाई छलफलद्वारा टुङ्ग्याइने लक्ष्य तय गरेको ईयूका लागि बेलायतका राजदूत टिम ब्यारोले युरोपियन काउन्सिलका अध्यक्ष डोनाल्ड टस्कसँगको भेटमा सोमबार बताउनुभयो ।

बेलायतकी प्रधानमन्त्री थेरेसा मेले लिसबन सम्झौताको धारा नं. ५० लाई कार्यान्वयनका लागि लैजान एक पत्रमार्फत् जानकारी गराउनु हुने राजदूत ब्यारोले बताउनुभयो ।

यद्यपि पत्र परम्परागत चिठ्ठीका रुपमा आउने छ वा विद्युतीय सन्देशका रुपमा पठाइने छ भन्नेबारे भने प्रष्ट गरिएको छैन ।

हामी यस युगको बेलायती नागरिकका महत्वपूर्ण मुद्दाका सीमाबारे सम्झौता गर्दैछौँ, ब्रेक्जिट प्रक्रियाका लागि सचिव डेभिड ड्याभिसले भन्नुभयो । सरकार आफ्नो दिशा (लक्ष्य) बारे प्रष्ट छ । सम्झौताले संयुक्त अधिराज्य (यूके) का सवै राज्य र क्षेत्रका साथसाथै सम्पूर्ण युरोपेली मुलुकसँगको सम्बन्धबारे प्रष्ट पार्नेछ ।

बेलायती प्रधानमन्त्री मेले मार्च २९ मा धारा नं. ५० कार्यान्वयन भएको घोषणा गरेसँगै प्रक्रियाको थालनी हुनेछ ।

ईयूले पनि बहिर्गमन प्रक्रिया सुरु गर्ने छलफल सुरु गर्न तयार रहेको बताएको छ ।

 

  • 49Read This News:
  • 509290Total reads:
  • 312569Total visitors: