प्राज्ञ नगेन सिंहको आठौँ एकल चित्रकला प्रदर्शनी सम्पन्न

कास्की, ८ असार २०७४। लायन्स क्लब अफ लेखनाथको आयोजनामा प्राज्ञ नगेन सिंहको आठौँ एकल चित्रकला प्रदर्शनी ‘७ प्रदेश कला प्रदर्शनी’ पोखराको महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरीमा बुधबार सम्पन्न भएको छ ।

लायन्स अस्पताल लेखनाथको सहयोगार्थ आयोजित ९ दिने कला प्रदर्शनी बुधबारसम्म करिब २ हजारजनाले अवलोकन गरेका छन् । प्रदर्शनीको समापन समारोहमा नेपाल पत्रकार महासङ्घ कास्कीका पूर्वअध्यक्ष एवम् वरिष्ठ पत्रकार बद्रीविनोद प्रतीकले कला एउटा सिर्जना भएको र सिर्जना गर्ने खुबी कमैमा हुने भएकाले कलाकारको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभासद् ज्योतिप्रकाश विकले विदेशमा कलाकारको परिश्रमको मुल्य सरकारले दिने र कला प्रदर्शनी हेर्न लामो भीड लाग्ने भएपनि नेपालमा प्रचार प्रसारको कमी हुने गरेको बताउनुभयो । उहाँले सरकारले कलाकारलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभयो ।

कलाकार नगेन सिंहले यात्राका क्रममा आफू पुगेका जिल्लाको प्राकृतिक र सांस्कृतिक विषयवस्तुलाई समेटेर तयार पारिएका चित्र प्रदर्शनीमा राखिएको जानकारी दिनुभयो । “नेपालमा सगरमाथा र बुद्ध मात्र होइन अरू पनि चिनाउनुपर्ने धेरै ठाउँ छन्,” उहाँले भन्नुभयो, “तिनै लुकेका पहिचानलाई उजागर गर्न ७५ जिल्ला भ्रमणमा हिँडेको हुँ, ‘शान्ति, पर्यटन र कला प्रवद्र्धन’ नाराका साथ विश्वको पनि यात्रा गर्ने मेरो सोच छ ।”

कार्यक्रममा पत्रकार तारा चापागार्इं, लायन्स क्लब अफ लेखनाथका अध्यक्ष सूर्यनारायण बराल, लेखनाथ पत्रकार मञ्चका अध्यक्ष भीमपाणि बराल, लायन्स क्लब लेखनाथका सदस्य शङ्कर पौडेल, मञ्चका कोषाध्यक्ष सन्दीप पौडेल लगायतले कलाको महत्व सम्बन्धमा आ–आफ्ना धारणा राख्नुभएको थियो । प्रदर्शनीमा सिंहका करिब ५५ वटा चित्र राखिएका थिए ।

 

  • 100Read This News:
  • 511311Total reads:
  • 314524Total visitors: