पोखरा पर्यटन परिषद्ले नेपालमा हवाई सञ्जाल विस्तार गर्न पहल गर्ने

कास्की, २८ माघ २०७५ । पोखरा पर्यटन परिषद्ले नेपालमा हवाई सञ्जाल विस्तार गर्न पहल गर्ने भएको छ ।

पोखरा पर्यटन परिषद्को आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा गरिएको उत्तरपूर्वी भारतको प्रवद्र्धनात्मक भ्रमणको आइतबार आयोजित समापन समारोहमा परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले भारतीय पर्यटन व्यवसायीले नेपालको हवाई सेवालाई प्रभावकारी बनाउन सुझाव दिएको बताउनुभयो ।

नेपाल भारतको काँकडभिट्टा सीमानाका नजिकैको चन्द्रगढी विमानस्थलबाट पोखरा सिधा हवाई सम्पर्क नभएको प्रति त्यहाँका पर्यटन व्यवसायीको गुनासो भएको बताउँदै अध्यक्ष पोखरेलले सिधा हवाई सेवाका साथै त्यहाँसम्म पुग्ने बाटो पनि स्तरोन्नति गर्न पहल गरिने धारणा राख्नुभयो ।

सहभागी टोलीका सदस्यलाई अध्यक्ष पोखरेल र नेपाल पर्यटन बोर्डका पूर्वसदस्य एवं वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले सहभागिताको प्रमाणपत्र प्रदान गर्नुभयो । कार्यक्रम संयोजक सञ्जयकान्त सिग्देलका अनुसार प्रवद्र्धनात्मक भ्रमण टोलीले उत्तरपूर्वी भारतका छ राज्यमा पर्यटन व्यवसाय सञ्चालन गर्ने व्यवसायीको छाता सङ्गठन इस्टर्न हिमालय ट्राभल एण्ड टुर अपरेटर एशोसिएसनद्वारा सिलगुडीमा आयोजित बङ्गाल ट्राभल मार्टमा सहभागी भई व्यावसायिक साझेदारीका विषयमा छलफल गरेको थियो ।

त्यस्तै टुर अपरेटर एशोसिएसन अफ आसामका पदाधिकारीसहित त्यहाँका पर्यटन व्यवसायीसँग गुहाटीमा पर्यटकीय साझेदारीलगायतका विषयमा छलफल भएको उहाँले जानकारी दिनुभयो ।

 

  • 83Read This News:
  • 483256Total reads:
  • 289156Total visitors: