काठमाडौँ, ५ असार २०७५ । नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत पिटर ए मालनाक तथा पीसकोरका नेपाल निर्देशक शेरिल रस्सेलबाट ३५ पीसकोर स्वयंसेवकले शपथ ग्रहण गरेका छन् ।
नेपालमा आफ्नो दुई वर्षीय सेवा शुरु गर्नुपूर्व उनीहरूले शपथ लिएका हुन् ।
शपथ लिएका यी नयाँ स्वयंसेवक सन् १९६२ यता नेपालमा आई सेवा पु¥याइसकेका ३ हजार ८०० भन्दा बढी स्वयंसेवक र विश्वभरका अन्य ६५ देशमा सेवारत ७ हजार २०० भन्दा बढी पीसकोर स्वयंसेवकको सूचीमा सामेल भएका छन् ।
सन् २०१२ मा पीसकोर कार्यक्रम पुनः सञ्चालन भएपछि नेपाल आउने स्वयंसेवकको यो सातौँ समूह हो ।
“पीसकोर र नेपालबीच लामो समयदेखिको सम्बन्ध हाम्रा दुई राष्ट्रबीचको सहकार्यको कुशल उदाहरण हो”– कावा राजदूत मालनाकले भन्नुभयो, “यी प्रशिक्षार्थीले ३ हजार ८०० भन्दा बढी पूर्वस्वयंसेवकका पदचिह्नलाई पछ्याउनेछन् । ”
“उनीहरू सेवा गर्न चाहन्छन् र त्यस उद्देश्यका लागि नेपाललाई रोजेका छन्, आफ्नो देश मात्र होइन, नेपाली जनताको पनि सेवा गर्नेछन्,” उहाँले भन्नुभयो ।
अप्रिल २०१८ मा नेपाल आइपुगेका ३५ पीसकोर स्वयंसेवकले आफ्नो सेवाको तयारीका लागि काभ्रे जिल्लामा ११ हप्ते सघन भाषिक, अन्तरसांस्कृतिक तथा प्राविधिक तालीम पूरा गरिसकेका छन् ।
खाद्य तथा पोषण सुरक्षासम्बन्धी परियोजनामा काम गर्न यी स्वयंसेवकलाई तीन प्रदेशका सात जिल्लामा खटाइएको काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ ।
उनीहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, गृह मन्त्रालय तथा परराष्ट्र मन्त्रालयसँगको समन्वयमा काम गर्नेछन् । उक्त क्षेत्रमा नेपाल सरकारको प्राथमिकतामा रहेका खाद्य तथा पोषण सुरक्षासम्बन्धी कार्यक्रमलाई उनीहरुले सहयोग गर्नेछन् ।


