पिपिएलमा पोखरा पल्टन र काठमाडौँ रोयल्सको दोस्रो जीत

कास्की, १३ कात्तिक २०७५ । पोखरामा कात्तिक ९ गतेदेखि शुरु भएको पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगितामा सोमवारका खेलमा पोखरा पल्टन र हुलास काठमाडौँ रोयल्सले दोस्रो जीत दर्ता गराएका छन् ।

चितवन राइनोजलाई पाँच विकेटले पराजित गर्दै घरेलु टोली पोखराले जारी प्रतियोगितामा दोस्रो जीत निकालेको हो । यहाँको रङ्गशाला खेलमैदानमा भइरहेको प्रतियोगितामा शुरुआतका ब्याट्सम्यान खाता नै नखोली पेभिलियन फर्किएपछि दवावमा परेको शरद भेषवाकर नेतृत्वको पोखराले त्यसपछि ब्याटिङमा आएका रवीन्द्र सिंहको ४८ बलमा ६५ रनको उत्कृष्ट ब्याटिङको योगदानले चितवनलाई हराउन सफल भयो ।

यसअघि चितवनले २० ओभरमा पाँच विकेट गुमाएर १४० रन जोडेको थियो । जीतका लागि १४१ रनको लक्ष्य पोखराले १७ ओभरको दोस्रो बलमा भेट्टाएको थियो । सोमवारको पहिलो खेलमा हुलास काठमाडौँ रोयल्सले विराटनगर टाइटन्समाथि पाँच विकेट अन्तरले जीत दर्ता गरायो ।

प्रतियोगितामा दोस्रो जीतको खोजीमा रहेको काठमाडौँ विराटनगर टाइटन्सले दिएको १५० रनको विजयी लक्ष्य अन्तिम ओभरको दोस्रो बलमा अमर राउटेलाले छक्का प्रहार गरेपछि सङ्घर्षपूर्ण जीत निकाल्न सफल भएको थियो । विराटनगर २० ओभरमा सात विकेट गुमाउँदै १४९ रन जोड्न सफल भएको थियो । काठमाडौँसँग पराजित भएपछि प्रतियोगितामा विराटनगरको तेस्रो हार भएको छ ।

 

  • 72Read This News:
  • 502632Total reads:
  • 306110Total visitors: