काठमाडौँ, ९ मङ्सिर २०७५ । प्रथम राष्ट्रिय महिला तथा पुरुष नोभिष बक्सिङ प्रतियोगितामा लक्ष्मी घर्तीमगर र शिवानी श्रेष्ठ फाइनलमा प्रवेश गरेका छन् ।
शनिवार भएको महिला यु २४ को ५७ केजी तौल समूहमा अल्फाकी लक्ष्मी घर्तीमगरले भक्तपुरकी पुनम कर्माचार्यलाई तथा नक्सालकी शिवानी श्रेष्ठले बानुजकी विभासा श्रेष्ठलाई ३–२ अङ्कका आधारमा पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् ।
त्यसैगरी पुरुष यु २४ अन्तर्गत ४९ केजी तौल समूहमा काठमाडौँ बक्सिङ क्लबका दिपेश राई र सुनसरीका विशाल राईले फाइनलमा प्रवेश गरे । पुरुष ५२ केजी तौल समूहमा ललितपुका बुद्ध ग्याम्जो लामा र सेन्ट्रल बक्सिङका जीवनकुमार पुनले उपाधि भिडन्त पक्का गरेका छन् । ५६ केजी तौल समूहमा कास्कीका पुरन रास्कोटी र भक्तपुरका सुजन पौडेलले पनि फाइनलमा भेट पक्का गरेका छन् ।
पुरुष ६० केजी तौल समूहमा रोल्पाका दीलबहादुर घर्तीमगर र नक्सालका मौसम रानामगर पनि आ आफ्नो खेल जित्दै फाइनलमा प्रवेश गरेका छन् ।
त्यसैगरी ६४ केजी तौल समूहमा कास्कीका पवन गुरुङ र नक्सालका विवेक वीर गुरुङ, ६९ केजी तौल समूहमा जिमखानाका अनमोल घले र रेजका कोशिश श्रेष्ठ, पुरुष ७५ केजी तौल समूहमा टीकाथलीका प्रिन्स खडका र पाटनका सुमन महर्जन फाइनल प्रवेश गरेका छन् ।
त्यसैगरी महिला यु १९ अन्तर्गत ४८ केजी तौल समूहमा अल्फाकी सुशीला थापा र नक्सालकी रमीशा श्रेष्ठले आफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका छन् । फाइलनका खेल आज हुनेछन् ।


