काठमाडौँ, २९ भाद्र २०७५ । भारतको लखनउमा जारी एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत आज सम्पन्न दोस्रो खेलमा नेपालको यू–१९ टोली भारतको यू–१९ ‘ए’सँग पराजित भएको छ ।
लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको खेलमा नेपाल ८ विकेटले हारेको हो । टस जितेर ब्याटिङ गर्दै नेपालले ४५.५ ओभरमा सवै विकेट गुमाएर १५६ रन बनाएको थियो । १५७ रनको विजयी लक्ष्य भारतले २४.१ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो।
भारतका लागि वाईभि राथोडले अविजित ५९ रन तथा प्रभासिमरन सिंहले अविजित ४६ रनको योगदान दिए । कप्तान अनुज रावतले ४७ रन बनाए । बलिङवर्फ नेपालका लागि कमलसिंह ऐरी र पवन सर्राफले १/१ विकेट लिए ।
त्यसअघि ब्याटिङ गर्ने क्रममा नेपालका लागि सन्दिप जोराले सर्वाधिक ६६ रनको योगदान दिए । उनले ९३ बल खेल्दै १ छक्का र ५ चौका हाने । तृतराज दासले ४६ तथा भीम सार्कीले २८ रन बनाए । बलिङतर्फ भारतका वाईडी मङवानी र अजयदेव गौडले ४/४ विकेट लिए ।


