नेपाली बक्सिङ टोली प्रशिक्षणका लागि थाइल्याण्ड जाने

काठमाडौँ, १२ असार २०७५ । एशियाली खेलकूद प्रतियोगिता (एसियाड)को तयारीमा रहेको नेपाली राष्ट्रिय बक्सिङ टोली प्रशिक्षणका लागि थाइल्याण्ड जाने भएको छ ।

बुधबार थाइल्याण्ड प्रस्थान गर्ने टोलीलाई राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य सचिव केशवकुमार विष्ट, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, राखेप सदस्य तथा संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी, राखेप खेलकूद विकास विभाग प्रमुख कूलबहादुर थापालगायतले सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो ।

टोलीले दुई महिनासम्म थाइल्याण्डको बैंककमा विशेष प्रशिक्षणमा सहभागी हुनेछन् । प्रशिक्षणका दौरानमा टोलीले थाइल्याण्डमा हुने थाइल्याण्ड ओपन इन्टरनेशनल बक्सिङ च्याम्पियनसिप (किङ्स कप) मा पनि सहभागिता जनाउनेछ ।

च्याम्पियनसिप जुन २८ देखि जुलाई ६ तारिखसम्म हुँदैछ । किङ्स कपमा सहभागी हुने खेलाडीमा महिलातर्फ विमला श्रेष्ठ ५१ केजी, संगीता सुनार ५७ केजी र पुनम रावल ६० केजी तौल समूहमा प्रतिष्पर्धा गर्नेछ ।

त्यस्तै पुरुषतर्फ तेजबहादुर देउवा ४९ केजी, प्रेम चौधरी ५२ केजी, विमल रोका ५६ केजी र एकबहादुर घले ६० केजी तौल समूहमा प्रतिष्पर्धा गर्नेछन् भने भूपेन्द्र थापाले ६४ केजी, विष्णु घलेले ६९ केजी र दीपक श्रेष्ठ ७५ केजी तौल समूहमा प्रतिष्पर्धा गर्नेछ ।

टोलीको मुख्य प्रशिक्षकमा प्रकाश थापामगर, सहायक प्रशिक्षकमा दीपक महर्जन, टोली व्यवस्थापकमा दिलीपा श्री अधिकारी र मिडिया अफिसरमा महेशबाबु काफ्ले रहेका छन् ।

सदस्य सचिव केशवकुमार विष्टले एशियन गेम्समा पदकको आशा गरिएको खेललाई तीन महिनाअघिबाटै विशेष प्रशिक्षण गराउन शुरु गरिएको बताउनुभयो । उहाँले विशेष प्रशिक्षण सबै खेलका लागि आवश्यक रहेको बताउँदै यसपटकको एशियन गेम्समा विगतका सबै रेकर्डहरु तोडिने विश्वास व्यक्त गर्नुभयो ।

“हामीले पदकको सम्भावना भएका खेलमा तीन महिनाअघिबाट विशेष प्रशिक्षण गराएका छौँ । यसपटकको एशियन गेम्समा राम्रो रेकर्ड आउने हामीले विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो ।

 

  • 48Read This News:
  • 481926Total reads:
  • 288946Total visitors: