द्वन्द्वपीडितलाई रु १२ करोड ३३ लाख वितरण

नुवाकोट, ३१ असार २०७४ । मुलुकमा चलेको सशस्त्र दशवर्षे माओवादी युद्धमा पीडित भएका नुवाकोटका द्वन्द्वपीडितलाई स्थानीय शान्ति समिति नुवाकोट मार्फत राहत रकम उपलब्ध गराइएको छ । द्वन्द्वपीडितलाई ५ वर्गमा विभाजित गरी ८५५ व्यक्ति तथा परिवारको लागि रु १२ करोड ३३ लाख ८० हजार बैँक मार्फत वितरण गरेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी जगदिशराज बरालले जानकारी दिनुभयो ।

‘शान्ति तथा पुनःनिर्माण मन्त्रालय द्वन्द्वप्रभावित व्यक्ति, परिवार तथा संरचनाको लगत संकलन कार्यदल’ले तयार गरेको प्रतिवेदनको आधारमा निवेदन संकलन गरी पहिचान भएकालाई क्षतिपूर्ति तथा आर्थिक सहायतास्वरुपमा रकम उपलब्ध गराइएको प्रजिअ बरालले बताउनुभयो । कार्यदलको प्रतिवेदन अनुसार सशस्त्र द्वन्द्वमा सर्वसाधारण मृतक १८७ जना र सुरक्षाकर्मी २१ जना गरी २०८ जना मृतकको परिवारलाई यसअघि पाएको रकममा थप गरी रु १० लाख पुर्याइएको छ ।

यस्तै, बेपत्ता भएका २२ जनाको परिवारको लागि यसअघि रु ५ लाख उपलब्ध गराइसकेकाले थप रु ५ लाख बेपत्ता व्यक्तिको हकदारलाई प्रदान गरिएको छ । द्वन्द्वको समयमा राज्य तथा तत्कालीन विद्रोही पक्षबाट अपहरणमा परेको भनी पहिचान भएका १५१ जना र विस्थापित जीवन विताउन बाध्य ४७४ जनाको लागि रु २५/२५ हजार राहत रकम बैंकमार्फत वितरण गरिएको छ ।

कार्यदलको प्रतिवेदन अनुसार द्वन्द्वपीडित वितरण गर्ने रु १६ करोड ९६ लाख ५९ हजार बजेट प्राप्त भए पनि निवेदनमा पर्याप्त प्रमाण नपुगेको तथा बैँंक खाता नभएका व्यक्तिलाई रकम उपलब्ध गराउन नमिल्ने भएकाले सबै पीडित समेट्न नसकेको प्रजिअ बरालले उल्लेख गर्नुभयो । द्वन्द्वपीडितको पहिचान नहुँदा वितरणको लागि आएको रु ४ करोड ६२ लाख ७९ हजार बजेट फिर्ता भएको छ ।

 

  • 46Read This News:
  • 532485Total reads:
  • 335380Total visitors: