दाङ साहित्य तथा सांस्कृतिक प्रतिष्ठानद्वारा दुई पुस्तक विमोचन

दाङ, २७ असोज २०७३ । दाङ साहित्य तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा यहाँका दुईजना लेखकद्वारा लेखिएका दुई पुस्तक बुधबार विमोचन गरियो ।

प्रतिष्ठानका अध्यक्ष डिल्लीराज श्रीधरको सभापतित्व एवम् सांसद बुद्धिराम भण्डारीको प्रमुख आतिथ्य तथा प्रेस काउन्सिलका पूर्वअध्यक्ष नारायणप्रसाद शर्मा, साहित्यकार प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ अमर गिरी, अङ्ग्रेजी साहित्यकार वामदेव आचार्यकोे विशिष्ट आतिथ्यतामा बुधबार भएको कार्यक्रममा तीर्थबहादुर डाँगीको ‘मनको बह’ नामक गीत, कविता सङ्ग्रह र लेखक रुद्रप्रसाद शर्माको ‘समाज परिवर्तनको संवाहक समसामयिक सन्दर्भ’ नामक स्थानीय पत्रिकामा प्रकाशित लेखको सँगालो पुस्तकको विमोचन गरिएको हो ।

सो अवसरमा प्रमुख अतिथि भण्डारीले भाषा संस्कृतिलाई जोगाइएन भने राष्ट्रियता नरहने बताउनुभयो । उहाँले साहित्य सृजनामा दाङ अब्बल रहेको समेत बताउनुभयो ।

कार्यक्रममा साहित्यकारहरु आलोचक मात्र नभई समालोचक पनि हुनुपर्ने धारणा राखिएको थियो । सहभागीहरुले भाषा संस्कृतिलाई जगेर्ना गर्नका लागि आम मानिसको प्रवृत्ति पनि ठीक हुनुपर्ने र समाजका यथार्थ घटनालाई साहित्यकारले हुबहु लेख्नुपर्ने बताएका थिए ।

उनीहरुले साहित्यकार तथा अन्य सरोकारवालाले समाज परिर्वतनका लागि कलम चलाउनुपर्ने र केका लागि लेख्ने भन्ने कुरामा आफू विश्वस्त रहनुपर्ने समेत बताएका थिए ।

 

  • 75Read This News:
  • 502647Total reads:
  • 306125Total visitors: