दक्षिण कोरिया, २७ वैशाख २०७५ । दक्षिण कोरियामा थुनामा रहेकी पूर्व राष्ट्रपति उपचारको क्रममा अस्पताल भर्ना हुनु भएको छ ।
सोलस्थित एक अस्पतालमा पूर्व राष्ट्रपति पार्क गेउन हाई भर्ना हुनु भएको अस्पतालका प्रवक्ताले बुधबार जानकारी दिनुभएको छ ।
पूर्व राष्ट्रपति पार्कलाई भष्ट्राचारको मुद्दामा गत महिना २४ वर्षको जेल सजाय सुनाइएको थियो ।
कारागारका अधिकारीहरूको साथमा पार्क नागरिक अस्पताल सेट म्यारी पुग्नु भएको थियो । प्रवक्ताले विस्तृत विवरण दिन अस्वीकार गर्नुभएको छ । तर योन्हाप समाचार समितिले भने पार्क उहाँको पूरानो शारीरिक समस्या ढाड दुखाईको कारण अस्पताल भर्ना हुनु भएको बताएको छ ।
उहाँ दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति हुनु भएको थियो । पार्कले संवेदनशील थुप्रै कागजपत्र चुहाएर कानूनको उल्लंघन गरेको र राज्यको स्रोत तथा शक्तिको दुरूपयोग गरेको अदालतले ठहर गरेको छ ।
आफ्ना निकट साथी चाई सून सिलसँग भ्रष्टाचार काण्डमा मुछिएपछि पार्कविरुद्ध संसदले महाअभियोग लगाएको थियो । आफूलाई लगाइएको आरोपको पार्क र चाई दुवैले अस्वीकार गर्दै आउनुभएको छ ।


