तीन इस्लामिक सशस्त्र आतङ्ककारीलाई मृत्युदण्डको सजाय

पाकिस्तान, ३ चैत २०७३ । पाकिस्तानको एक सैनिक अदालतले दोषी पाइएका ३ इस्लामिक सशस्त्र आतङ्ककारीलाई मृत्युदण्डको सजायँ दिइएको पाकिस्तानी सैनिक श्रोतले खुलासा गरेको छ ।

पाकिस्तानी सैनिकले बुधबार जारी गरेको एक विज्ञप्तिका अनुसार ती तीनै जना पाकिस्तानी तालिवानी र अर्को अतिवादी समूह हरकत–उल–जिहाद–ए–इस्लामिसँग आबद्ध रहेका थिए । मृत्युदण्डका सजायँ पाएका ती आतङ्ककारीलाई राष्ट्रसेवक सैनिक र प्रहरी अधिकारीको हत्यामा संलग्न रहेको अभियोग लगाइएको थियो ।

सन् २०१४ को डिसेम्बरमा तालिवान सशस्त्र आतङ्ककारी समूहले स्थानीय एक विद्यालयमा गरेको आक्रमणमा परी करिब १४० विद्यार्थीसहित १५० जनाभन्दा बढी सर्वसाधारणको मृत्यु भएको घटनापछि पाकिस्तानी सरकारले आतङ्कका यस्ता मामिला सैनिक अदालतमा निरुपण गराउँदै आएको र सैनिक अदालतले दोषी मानेका आतङ्कारीलाई सोझै मृत्युदण्डको सजायँ दिँदै आएको छ ।

आँखा चिम्लेर सेनालाई विश्वाश गर्ने सरकारको यस्तो गतिबिधिलाई पाकिस्तानका मानवअधिकार समूहले भने आलोचना गरेका र सैनिक अदालतको सुनुवाई र विबेचनाका सम्बन्धमा निष्पक्षताको प्रश्न उठाउँदै आएका छन् । तर सेनाले भने बिशुद्ध अपराधी तथा राष्ट्रबिप्लवमा लागेकालाई मात्र सजायँ दिँदै आएको दाबी गर्दै यसमा चित्त नबुझ्नेलाई माथिल्लो निकायमा पुनरावेदन गर्ने अधिकार मौजूदै रहेको भनी बताएको छ ।

सशस्त्र इस्लामी लडाकू तथा आतङ्कवाद सम्बन्धि राष्ट्रिय मुद्दा मामिलाको निरुपण एवम् बिबेचना गर्न पाकिस्तान सरकारले दुई वर्षसम्म सैनिक अदालतलाई अधिकार प्रत्यायोजन गरेको थियो ।

सो दुई वर्षे अवधि हालसालै समाप्त भएको छ । अब अरु अवधि थप गर्ने या नगर्ने भन्ने सम्बन्धमा पाकिस्तानी संसद्मा चर्को बहस चलिरहेको छ ।

 

  • 24Read This News:
  • 509191Total reads:
  • 312474Total visitors: