तल्लो मोदी जलविद्युतको उत्पादन दशैँअघि हुने

कुश्मा, ७ असोज २०७५ । पर्वत जिल्लामा निर्माण भइरहेको तल्लो मोदी जलविद्युत् आयोजनाले दशैँअघि उत्पादन शुरु गर्ने बताएको छ ।

२० मेगावाट क्षमताको सो आयोजनाले गत वर्षकै असारमा उत्पादन गर्ने भनिए पनि दशैँअघि मात्र उत्पादन दिने जनाएको हो ।

स्थानीयवासीको अवरोध र प्राकृतिक प्रकोपलगायतका कारणले निर्माणमा ढिलाइ भएको र तोकिएको मितिमा निर्माण हुननसकेको भनाइ आयोजनाको छ । आयोजनाले ६० महिनामा उत्पादन शुरु गर्ने लक्ष्य लिएर विसं २०६९ साउनमा काम थालेको थियो । “वर्षामा पहिरो जाने, भासिने र आयोजनाभित्रै बाढी पस्नेजस्ता प्राकृतिक जटिलताका कारणले उत्पादन तोकिएको मितिमा हुन सकेन” आयोजना प्रमुख पवनकुमार यादवले भन्नुभयो, “अब हामी छिट्टै नै उपलब्धि देखिने गरी काम गर्दैछौँ ।”

उहाँले निर्माणकै क्रममा देशमा विभिन्न चरणका चुनाव भएको र सोका कारण समेत काम समयमै सक्न केही ढिलाइ भएको स्वीकार गर्नुभयो । अहिले काम तीव्र गतिमा भइरहेको र दशैँ अगाडि सक्नेमा शंका नगर्न उहाँले आग्रह गर्नुभयो ।

आयोजनाको वार्षिक ११ करोड ७० लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । कुश्मा नगरपालिका र मोदी गाउँपालिका यो आयोजनाका प्रभावित क्षेत्र हुन् । मोदी गाउँपालिकाको तिलाहारबाट ४ हजार २०० मिटर लामो सुरुङ बनाएर आयोजनाको पावरहाउस कुश्मा नगरपालिका–८ परादीमा राखिएको छ ।

रु ३ अर्ब ६० करोडको लागत स्टिमेटमा निर्माण शुरु भएको आयोजनाले निर्धारित समयमा उत्पादन दिन नसकेपछि लागत बढदै गएको छ । आयोजनाको अहिले ९५ प्रतिशत काम सकिएको छ ।

 

  • 89Read This News:
  • 502007Total reads:
  • 305523Total visitors: