जुम्ला, १९ साउन २०७४ । करदाता सेवा कार्यालय जुम्लामा गत आव २०७३/७४ मा रु ६ करोड ५९ लाख ९ हजार ७६७ राजस्व संकलन गरिएको छ ।
संकलित राजस्वमा सबैभन्दा बढी अग्रिम आयकर रहेको छ जसमा अग्रिम आयकरतर्फ रु २ करोड १९ लाख ७८ हजार राजस्व संकलन भएको करदाता सेवा कार्यालय, जुम्लाका निमित्त कार्यालय प्रमुख कमलेशकुमार यादवले जानकारी दिनुभयो ।
त्यसैगरी, पारिश्रमिकमा आधारित सामाजिक सुरक्षा करतर्फ रु १ करोड २४ लाख ८८ हजार र पारिश्रमिक करतर्फ रु १ करोड १४ लाख १९ हजार राजस्व संकलन भएको निमित्त कार्यालय प्रमुख यादवले बताउनुभयो ।
त्यस्तै, मूल्य अभिवृद्धि करतर्फ रु १ करोड ८ लाख ८३ हजार राजस्व संकलन भएको उहाँको भनाइ छ । उहाँका अनुसार बहालकर रु ३० लाख ५४ हजार, मदिराबाट रु २७ लाख ३७ हजार र सुर्तीजन्य चीजबाट २४ हजार राजस्व संकलन भएको छ ।
यता ब्याज करबाट रु १५ लाख ८१ हजार, पूँजीगत लाभ करअन्तर्गत रु ९ लाख २० हजार र शिक्षा सेवा शुल्कबापत रु २ लाख ८ हजार राजस्व संकलन भएको कार्यालय प्रमुख यादवले अवगत गराउनुभयो ।
घरबहाल करमा भने बढी कर छली भएको उहाँको भनाइ छ । विभागले रु ६ करोड ८२ लाख राजस्व संकलन गर्ने लक्ष्य दिएपनि त्यो भेट्न सकिएन, तर पनि गत आव ०७२/७३ को भन्दा १५.७५ प्रतिशतले राजस्व संकलनमा वृद्धि भएको छ, उहाँले भन्नुभयो ।
आव ०७२/७३ मा करदाता सेवा कार्यालय जुम्लाले रु ५ करोड ४२ लाख राजस्व संकलन गरेको थियो । बजारमा सामान किनबेच गर्दा बिल लिनेदिने संस्कार नबसेकाले त्यसबाट पनि राजस्व धेरै छली भएको कार्यालयले जनाएको छ ।


