चिप्लेढुङ्गामा रङ लगाएकोमा सर्वत्र विरोध

कास्की, ८ चैत २०७५ । पोखराको प्रमुख वजार क्षेत्र चिप्लेढुङ्गालाई चिनाउन मद्दत पुर्याएको चिप्लेढुङ्गाको ‘ढुङ्गा’माथि पहेँलो रङ पोतिएको छ । रङ दलिएपछि सम्पदामाथि अतिक्रमण गरिएको भन्दै त्यसको विरोध भएको छ ।

पोखराको महेन्द्रपुल नजिक व्यापारिक स्थानमा रहेको चिप्लेढुङ्गा त्यही ढुङ्गाको नामबाट प्रसिद्ध छ । लायन्स क्लब अफ हेम्जाले केही समय पहिला रेलिङ राखेर ढुङ्गाको संरक्षण गरेको थियो । क्लबका तत्कालीन अध्यक्ष नवराज त्रिपाठी भन्नुहुन्छ, “हामीले पोखराको व्यापारिक स्थान जुन ढुङ्गाको नामबाटै प्रसिद्ध छ यसलाई जोगाउनुपर्छ भनेर रेलिङ राखेका हौँ । रङ लगाउँदा स्वरुप बिग्रने भन्दै हामीले लगाएनौँ ।”

महेन्द्रपुल र चिप्लेढुङ्गा जाने बाटो छेउमा रहेको सो ढुङ्गा गाडी ठोक्किएर फुट्न सक्ने र इतिहास मेटिन सक्ने भएकाले रेलिङ हालिएको उहाँले बताउनुभयो ।

स्थानीयवासी बलराम बाँस्तोला ऐतिहासिक महत्व बोकको ढुङ्गालाई जोगाएर राखिएको बताउनुहुन्छ । “यसको पुरानै स्वरुपलाई जोगाउनु पर्छ”, उहाँले भन्नुभयो । रङ सफा गरेर पुरानै स्वरुपमा ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । राष्ट्रिय सम्पदा संरक्षण समिति नेपालका अध्यक्ष एवं सामाजिक अभियन्ता रामबहादुर पौडेल यसलाई सम्पदामाथिको खेलबाड भएको बताउनुहुन्छ । “एउटा इतिहास बोकेको वस्तुको प्राकृतिकस्वरुप बिगार्नु उदण्डता हो”, उहाँले भन्नुभयो, “यसको संरक्षणको दायित्व महानगरको हो ।”

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी सार्वजनिकस्थलमा पहिचानसँग जोडिएको वस्तुमाथि आफूखुशी गर्ने अधिकार कसैलाई नभएको बताउनुहुन्छ । “ढुङ्गामा पोतिएको रङ महानगरले सफा गर्नेगर्छ”, उहाँले भन्नुभयो ।

रासस

 

  • 206Read This News:
  • 505035Total reads:
  • 308409Total visitors: