गलकोटमा ‘क्यानोनिङ’को सफल परीक्षण

बागलुङ, २५ फागुन २०७४ । गलकोट नगरपालिका–३ हटियास्थित सहस्रधारा झरनामा साहसिक खेल क्यानोनिङ (छाँगारोहण) को सफल परीक्षण भएको छ ।

क्यानोनिङका विज्ञ रामबहादुर गुरुङसहितको टोलीले सम्भाव्यता अध्ययनपछि बिहीबार ‘क्यानोनिङ’ अभ्यास गरेका थिए । जिल्लामै पहिलोपटक ‘क्यानोनिङ’ खेलको गन्तव्य पहिचान भएको वाड नं ३ का अध्यक्ष वीरजंग भण्डारीले बताउनुभयो ।

उहाँकै पहलमा ७५ मिटर उचाइको सहस्रधारामा ‘क्यानोनिङ’ शुरु गर्ने योजनाले सार्थकता पाएको हो । ओझेलमा परेको सहस्रधारा झरना ‘क्यानोनिङ’कै कारण एकाएक चर्चामा आएको छ । साहसिक खेलमा रमाउन चाहाने आन्तरिक तथा बाह्य पर्यटकलाई ‘क्यानोनिङ’ले आकर्षित गर्ने अध्यक्ष भण्डारीले बताउनुभयो ।

‘थप पूर्वाधार विकास गरेर सहस्रधारा झरनालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्छौं,’ उहाँले भन्नुभयो– ‘क्यानोनिङ खेलले यसको महत्वलाई उजागर गरेको छ ।’ वडा कार्यालयले चालु आवमा छुट्याएको बजेटबाट ‘क्यानोनिङ’ खेलको सम्भाव्यता अध्ययनको काम भएको हो ।

‘क्यानोनिङ’ खेलको दिगो विकासका लागि पूर्वाधार तयारीदेखि प्रचारप्रसारलाई तीव्र पारिने भएको छ । स्थानीय युवालाई तालीमको लागि पोखरा पठाउने तयारी भएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

गलकोट नगरपालिकाका प्रमुख भरत शर्माले यस क्षेत्रको पर्यटन विकासमा ‘क्यानोनिङ’ले टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । ‘पर्यटकीय सम्भावना भएर पनि गलकोट ओझेलमा छ’ उहाँले भन्नुभयो– “यसले पर्यटक भित्र्याउन पक्कै सघाउ पुग्छ ।”

पानी बगिरहेको झरनामा डोरीको सहायताले फेदबाट उक्लिएर डाँडामा पुग्ने र पुनः तल ओर्लने कार्य नै ‘क्यानोनिङ’ हो । परीक्षण अभ्यासमा ‘क्यानोनिङ’ गर्नुभएका वडा अध्यक्ष भण्डारीले यस खेलबाट आफूले रोमाञ्चक अनुभव बटुलेको बताउनुभयो ।

सदरमुकामदेखि ४५ किमिको दुरीमा अवस्थित सहस्रधारा झरना पुग्न हटियादेखि ३० मिनेटको पैदलयात्रा तय गर्नुपर्छ ।

सन् २००७ बाट नेपालमा शुरु भएको ‘क्यानोनिङ’ कास्की, पर्वत, मनाङ, लमजुङ, काभ्रे, सिन्धुपाल्चोक, सुनसरी, नुवाकोट लगायतका जिल्लामा सञ्चालित छ ।

 

  • 16Read This News:
  • 260594Total reads:
  • 129911Total visitors: