गंगामायाद्वारा अनशन स्थगित

Photo Source:Review Nepal

काठमाडौँ, ३० असार २०७५ । वीर अस्पतालमा आमरण अनशनमा बस्नुभएका गंगामाया अधिकारी अनशन तोड्नुभएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङको उपस्थितिमा जुस खुवाएर अधिकारीलाई अनशन तोडाउनुभएको हो ।

जुस खाएपछि अधिकारीले आफू १० दिनका लागिमात्र अनशन तोडेको बताउनुभयो । “मेरो छोराको हत्या गर्ने दोषीलाई अहिले समातिएको छ”, उहाँले भन्नुभयो, “अब कारबाही हुन्छ कि हुँदैन, १० दिनसम्म दोषीलाई सरकारले के गर्दछ हेर्छु, यदि कारबाही नगरे फेरि ११औँ दिनमा अनशनमा बस्छु ।”

उहाँले अहिलेको अनशन तोडेको नभई स्थगितमात्र गरेको बताउनुभयो ।

सो अवसरमा मन्त्री तामाङले अनशन तोडाउँदा गंगामायालाई कहिल्यै अनशन बस्न नपर्ने गरिकन न्याय दिलाउने बताउनुभयो ।

“सरकार अन्यायमा परेकालाई न्याय दिलाउने गर्दछ”, उहाँले गंगामायालाई भन्नुभयो, “तपाईलाई न्याय दिलाउनका लागि नै अदालत प्रक्रिया थालिएका हौँ ।”

गंगामायालाई न्याय दिने सम्बन्धमा सरकार र मानवअधिकार सम्मलित समिति बनाइनेसमेत मन्त्री तामाङले बताउनुभयो ।

आयोगका अध्यक्ष शर्माले अधिकारीलाई न्याय दिलाउने बाटोमा आयोग लाग्ने बताउँदै “अहिले घटनामा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको छ, अब दोषीलाई कारबाही हुने प्रक्रियामा रहेको छ, भन्नुभयो ।”

उहाँले भन्नुभयो, “यदि सरकारले दोषीलाई कारबाही गर्न केही नगरे हामी तपाईको साथमा छौँ ।”

गोर्खा फुजेलकी ५८ वर्षीया अधिकारी गत जेठ १५ गतेदेखि छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै वीर अस्पतालमा आमरण अनशन बस्नुभएको थियो ।

गत आइतबार उहाँका छोराको हत्याका आरोपित छविलाल पौडेल सर्वोच्च अदालतमा पुगेर आत्मसमर्पण गरेपछि अधिकारीलाई अनशन तोडाउने प्रयास गरिएको थियो ।

छोरा कृष्णप्रसादको हत्यारालाई कारबाहीको माग गर्दै अधिकारीको श्रीमान् नन्दप्रसाद अधिकारीको अनशनकै क्रममा विस २०७१ असोज ६ गते निधन भएको थियो ।

विसं २०६१ जेठ १४ गते छोरा कृष्णप्रसाद अधिकारीलाई मामाघर चितवन गएको बेला हत्या भएको थियो ।

 

  • 115Read This News:
  • 485227Total reads:
  • 290238Total visitors: