कृषकलाई व्यावसायिक कृषक बनाउने उद्देश्यले कृषि पाठशाला सञ्चालन

पर्वत, २२ भाद्र २०७५ । कृषकलाई व्यावसायिक कृषक बनाउने उद्देश्यले यहाँको एक विकट गाउँमा कृषि पाठशाला सञ्चालन गरिएको छ ।

निर्वाहमुखी कृषि पेशा गर्दै आएका कृषकलाई व्यावसायिक बनाएर गाउँमा उत्पादित अन्न तथा फलफूल निर्यात गरी प्रशस्त आम्दानी भित्र्याउने उद्देश्यले जिल्लाको महाशिला गाउँपालिका–५ लुङ्खुदेउरालीमा सो पाठशालामा सञ्चालन गरिएको वडाध्यक्ष जीवनविक्रम उच्चैले जानकारी दिनुभयो ।

उक्त पाठशालामा हरेक शुक्रबार बिहान कक्षा सञ्चालन गरिने भएको छ । कृषि पाठशालासँगै व्यावसायिक कृषिका लागि वडा कार्यालयले ११ टोल विकास संस्था पनि स्थापना गरिएको छ । एक टोल एक सामुदायिक नर्सरी स्थापना र एक घर एक करेसाबारी सञ्चालन गर्ने कार्यक्रमसमेत तय गरिएको छ । साप्ताहिकरूपमा सञ्चालन हुने पाठशालामा हरेक टोल विकास संस्थाका कृषक सहभागी हुने र तिनलाई कृषि प्राविधिकले बालीनाली लगाउने तरिका, मलखादको प्रयोग, रोग किराको प्रकोपबाट बच्ने उपाय, फल टिप्ने तरिका, फलको व्यवस्थापन, फल टिपिसकेपछि बोेटको व्यवस्थापनजस्ता विषयमा सहजीकरण गर्दछन् ।

कृषकले आफ्नो घरमा रहेको करेसाबारीमा देखिएका समस्या पाठशालामा लान्छन । कृषि प्राविधिकले पाठशालामा समस्या समाधान गरिदिन्छन् । प्रत्येक साता कक्षा सञ्चालन हुने भएपछि कृषकका सबै समस्या समाधान गर्न सहज हुने वडाध्यक्ष उच्चैले जानकारी दिनुभयो । यसबाट व्यवासायिक कृषकका साथै निर्वाहमुखी वा घरायसी प्रयोजनका लागि मात्र खेती गर्ने कृषक पनि लाभान्वित हुने भएका छन् ।

पछिल्लो समय कृषि क्षेत्रको विकासमा लगानी बढाएको महाशिला गाउँपालिकाले एक गाउँ एक प्राविधिक पनि परिचालन गरिसकेको छ । यसअघि यान्त्रिक हलो वितरण गरेको गाउँपालिकाले कृषकको सहजताका लागि कुटनी पिसनी मिलसमेत वितरण गरेको छ । निःशुल्क रूपमा प्लाष्टिक टनेल बाँडेको गाउँपालिकाले अहिले कृषकलाई उनीहरूको माग बमोजिम निःशुल्क बिऊ वितरण गरेको छ । रु एक लाख बराबरको काउली, बन्दा, रायो, मुला, सिमी, बोडी, काक्रा, घिरौला, लौका, टमाटर, खुर्सानीलगायतका जातका उन्नत बिऊ वितरण गरिएको वितरण गरिएको वडाध्यक्ष उच्चैले बताउनुभयो ।

त्यस्तै घरघरमै पशु चिकित्सक तथा प्राविधिक पठाएर पशुको स्वास्थ्य परीक्षण पनि गराउन थालिएकाले कृषकको मनोबल बढ्नाका साथै कृषि पेशातर्फ लाग्न प्रेरणा पनि मिलेको छ ।

जिल्लामै पहिलो पटक सञ्चालन गरिएको उक्त पाठशालाबाट अन्य वडाका कृषक पनि लाभान्वित भएका छन् । अहिले वडा नं ५ मा मात्रै झण्डै २०० परिवारले व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका छन् । यहाँ उत्पादित तरकारी स्थानीय लुङ्खुदेउराली बजारका साथै छिमेकी जिल्ला स्याङजाको वालिङ, पुतलीबजार, पर्वतको कार्किनेटा बजार र पोखरासम्म जाने गरेको छ । एउटा कृषकले न्यूनतम रु एकदेखि १० लाखसम्म पनि आम्दानी गर्ने गरेको वडाध्यक्ष उच्चैले जानकारी दिनुभयो ।

–लक्ष्मीप्रसाद सापकोटा/रासस

 

  • 45Read This News:
  • 506283Total reads:
  • 309603Total visitors: