काँग्रेसको अवरोधले संसद्मा बैठक स्थगन

काठमाडौँ, ३२ असार २०७५ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गरेको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक स्थगन भएको छ ।

बैठकको शुरुवातमै काँग्रेसका सांसदहरुले आमरण अनशनरत डा गोविन्द केसीमा माग सम्बोधन गर्न सरकार गम्भीर नभएको भन्दै आसनबाट उठेर विरोध जनाउनुभएको थियो ।

सोही क्रममा काँग्रेसका सांसद पुष्पा भुषालले आमरण अनशनरत डा गोविन्द केसीका माग सम्बोधन गर्न सरकार गम्भीर नदेखिएको र वार्ताका लागि कुनै ठोस् पहल नगरेको आरोप लगाउनुभयो ।

उहाँको प्रश्न थियो, “मुलुकमा बाढी, पहिरो र डुबानले आक्रान्त हुनुका साथै रोगको संक्रमण फैलिने सम्भावना छ, यस्तो अवस्थामा स्वास्थ्यकर्मीको आन्दोलन चर्केर मुलुकका अस्पतालमा स्वास्थ्य सेवा बन्द भएपछि जनताको स्वास्थ्य हालत के होला ?”

उहाँले काँग्रेसले आमरण अनशनरत डा गोविन्द केसीका माग सम्बोधन हुनुपर्छ भनेर आवाज उठाउँदा संसद्मा डा केसी काँग्रेसलाई भोट हालेको मान्छे भनेर कुरा उठ्नु दुःखद् भएको बताउनुभयो ।

सांसद भुषालले डा केसी जीवनमरणको अवस्थामा रहेको बेला संसद् बैठक अघि बढाउन सहयोग गर्न नसकिने बताउनुभएको थियो ।

सभामुख कृष्णबहादुर महराले डा केसीका माग बारेको विषय संसद्मा प्रवेश भएको र सरकार पनि गम्भीर देखिएको बताउनुभएको थियो । उहाँले त्यस बारेमा सरकार के भन्न चाहन्छ र सरकारको धारणा के छ, सरकारका कुरा सुन्नलाई सदनको कारबाही अघि बढाउन दिनुप¥यो भनेर आग्रह गर्नुभएको थियो ।

तर सभामुखको पटकपटकको आग्रहपछि पनि काँग्रेसका सांसद आसन ग्रहण नगरी उभेर विरोध गरिरहेपछि सभामुख महराले संसद् बैठक स्थगनको घोषणा गर्नुभएको थियो ।

यसअघि आजै संसद्मा काँग्रेसको अवरोधका कारण बैठक आधा घण्टाका लागि स्थगन गरिएको थियो । प्रतिनिधिसभाको अर्को बैठक आगामी साउन ३ गते दिउँसो १ बजे बस्नेछ ।

 

  • 54Read This News:
  • 484866Total reads:
  • 290052Total visitors: