कञ्चनपुरमा आव ०७४/७५ को असार मसान्तसम्म ७८ महिला हराए

कञ्चनपुर, ३ भाद्र २०७५ । कञ्चनपुरका ३ वटा नगरपालिका क्षेत्रबाट आव ०७४÷७५ को असार मसान्तसम्म ७८ जना महिला हराएका छन् ।

बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाका विभिन्न स्थानबाट महिला हराएको भन्दै खोजतलासका लागि निवेदन परेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

हराएका ७८ महिलामध्ये २४ जना महिलामात्रै फेला परेका छन् । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले भन्नुभयो, “अझै ५४ जना महिला फेला पर्न सकेका छैनन् ।” सबैभन्दा बढी वैदेशिक रोजगारमा गएका व्यक्तिका श्रीमती हराएका छन् ।

अर्कैसँग भागी विवाह गर्ने तथा रोजगारीको प्रलोभनमा परेर हराउने गरेको पाइएको छ । हराएका महिला बेचबिखनमा परेको भने पाइएको छैन प्रहरी निरीक्षक अवस्थीले भन्नुभयो, “२० वर्षदेखि ४० वर्ष उमेरका महिला बढी हराएका छन् ।” हराउनेमा ५० वर्षसम्मका महिला पनि रहेको उहाँको भनाइ छ ।

सोही अवधिमा तीनवटै नगरपालिका क्षेत्रका ११ जना बालबालिका हराएकामा जसमध्ये ९ जना फेला परेका छन् । २ जना अझै फेला परेका छैनन् । हराउने बालबालिका १४ वर्षदेखि २० वर्ष उमेर समूहका बढी रहेका छन् । हराएका महिला र बालबालिका परिवारको सम्पर्कमा पुगे पनि प्रहरीलाई खबर नगर्दा सङ्ख्य धेरै देखिएको बताइएको छ ।

 

  • 52Read This News:
  • 555972Total reads:
  • 355500Total visitors: