इलाम दूधमा आत्मनिर्भर

इलाम, ५ मंसिर २०७४ । इलाम दूधमा आत्मनिर्भर भएको छ । जिल्लामा आर्थिक वर्ष २०७३/७४ मा १ लाख २३ हजार ७०० मेट्रिक टन दूध उत्पादन भएको छ ।

जिल्ला पशुसेवा कार्यालयले तयार गरेको आव २०७३/७४ को प्रतिवेदनअनुसार अघिल्लो आवको तुलनामा गत आवमा दूध उत्पादन करिब २.५ प्रतिशतले बढेको हो ।

जिल्ला पशुसेवा कार्यालयका पशुसेवा प्राविधिक डिकबहादुर कार्कीले दूधबाट मात्र जिल्लाभरका किसानले रु ४ अर्ब ७० करोड ६ लाख आम्दानी गरेको बताउनुभयो । गाई, भैँसी, चौँरीसमेतबाट जिल्लामा प्रशस्तै आम्दानी हुने गरेको छ ।

जिल्ला पशुसेवा कार्यालयले गतवर्ष जिल्लालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो । दूध उत्पादन वृद्धि गर्न कार्यालयले किसानलाई गोठ सुधार कार्यक्रम, नश्ल सुधार कार्यक्रम, अनुदानमा उन्नत जातका घाँस वितरण र विभिन्न कार्यक्रमका लागि अनुदानका कार्यक्रम सञ्चालन गरेपछि दूध उत्पादन वृद्धि हुन गई इलाम दूधमा आत्मनिर्भर बनेको हो ।

यहाँ उत्पादित दूधको मूल्य वृद्धि गर्न किसान हौसिएका छन् । दूधबाट घ्यू, छुर्पी, पनिर, ललीपप, चिजजस्ता दुग्धजन्य पदार्थ उत्पादन गरी त्यसबाट आम्दानी लिने गरेका छन् । उत्पादित दूधमध्ये २० प्रतिशत कच्चीरूपमा विराटनगर दुुग्ध वितरण आयोजनामा र अन्य निजी डेरी उद्योगमार्फत जिल्ला बाहिर निकासी हुने गरेको कार्यालयले जनाएको छ ।

जिल्लाका विभिन्न गाउँमा २३० वटा हाते डेरी सञ्चालनमा रहेको पशुसेवा कार्यालयले जनाएको छ । घरेलु डेरीले मुख्यगरी घ्यू, छुर्पी उत्पादन गरिरहेका छन् । इलाममा उत्पादित छुर्पी अमेरिका र युरोपमासमेत निर्यात हुने गरेको छ । सरकारी र निजी गरी जिल्लामा २४ वटा चिज कारखाना सञ्चालनमा छन् । गत आवमा रु २२ करोड ८० लाखको ४५६ मेट्रिक टन चिज, रु ५१ करोड ४ लाख बराबरको ९२८ मेट्रिक टन घ्यू तथा रु २२ करोड २७ लाख ५० हजारको २९७ मेट्रिक टन छुर्पी उत्पादन भएको प्राविधिक कार्कीले बताउनुभयो ।

 

  • 18Read This News:
  • 260594Total reads:
  • 129911Total visitors: