आजदेखि निर्वाचनका लागि १० दिनकालागि मुग्लिन सडक बन्द नगरिने

चितवन, २५ वैशाख २०७४। चितवनको मुग्लिन नारायणगढ सडक आयोजनाले वैशाख ३१ गतेको निर्वाचनलाई मध्यनजर गर्दै आजदेखि उक्त सडकमा यातायात बन्द नगर्ने भएको छ ।

आयोजनाका इन्जिनियर शिव खनालका अनुसार सबै मजदुर पनि चुनावका लागि घर जाने, अन्य क्षेत्रबाट समेत मतदाता पनि आउजाउको क्रम चल्ने तथा चुनावी कार्यक्रम पनि भइरहने भएकाले आजदेखि १० दिन बाटो खुला गर्ने निर्णय गरिएको हो ।

यसअघि अहिले उक्त सडक बिहान १० देखि ४ बजेसम्म ६ घन्टा बन्द गरेर निर्माण कार्य गरिँदै आएको थियो । जेठ ३ गतेसम्म बन्द नगरिने आयोजनाले जनाएको छ ।

अहिलेसम्म उक्त सडकखण्डमा ४७ प्रतिशत काम पूरा भएको खनालले जानकारी दिनुभयो । समयमै निर्माण सम्पन्न नभएकाले आगामी पुस पहिलो हप्तासम्मका लागि समय थप गरेर निर्माण कार्य हुँदै आएको उहाँको भनाइ छ । उक्त सडकखण्डको ३४ किलोमिटर क्षेत्रमा तीन चरणमा ६ वटा निर्माण कम्पनीले अहिले काम गरिरहेको छ ।

उक्त सडक भएर दैनिक १० हजार सवारीसाधन आवतजावत गर्ने गरेको चितवनका प्रहरी प्रमुख दीपक थापा बताउनुहुन्छ । वर्षाका बेलामा भने यात्रुले सास्ती पाउँदै आएका छन् ।

नेपाल भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत विश्व बैंकको सहयोगमा सडक चौडा पार्ने काम भइरहेको छ ।

 

  • 39Read This News:
  • 532339Total reads:
  • 335246Total visitors: