अष्ट्रेलियाबाट एक दिनमा ३०० ग्रामसम्म वढने उन्नत जातका बाख्रा नेपाल ल्याइयो

काठमाडौँ, २४ चैत २०७३। बहुमुखी कृषि फर्म प्रालि मोरङले व्यावसायिक बाख्रापालनका लागि अष्ट्रेलियाबाट उन्नत जातका २३ पाठापाठी आज नेपाल ल्याइएको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा बोयर जातको उक्त उन्नत बाख्रामध्ये २० पाठी र ३ वटा पाठा रहेको जानकारी दिएको छ ।

अष्ट्रेलियाबाट नेपाल ल्याउँदा प्रति पाठापाठी रु २ लाख ५० हजार पर्ने फर्मका कार्यकारी अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतले बताउनुभयो । अष्ट्रेलियाबाट ल्याइएका ती पाठापाठी नेपाल ल्याउँदा रु ५७ लाख ५० हजार खर्च भएको बताइएको छ ।

नेपाल ल्याएका ती पाठापाठीमा कुनै रोग नलागेको भनी अन्तर्राष्ट्रियस्तरको स्वस्थ्य परीक्षण प्रमाणपत्रसमेत अष्ट्रेलियन सरकारको आधिकारिक भेट्नरियनबाट जारी गरिएको उहाँले जानकारी दिनुभयो ।

व्यावसायिक रुपमा बाख्रापालन गर्नका लागि ती उन्नत जातको बाख्रा नेपाल ल्याइएको हो, अध्यक्ष बस्नेतले भन्नुभयो — ‘यो जातको पाठापाठी जस्तोसुकै हावापानी र मौसममा हुर्कनसक्ने, जुनसुकै जातको घाँसपात खाने, रोक प्रतिरोधात्मक क्षमता बढी हुने, मासुमा बोसोको मात्रा न्यून हुने, राम्रो आहार भएमा एक दिनमा २५० देखि ३०० ग्रामसम्म बढ्ने खालका छन् ।’

देशलाई मासुमा आत्मनिर्भर बनाउनका लागि उन्नत नश्ल भएको जातको पाठापाठीको अभाव रहेको र फर्मले निकट भविष्यमा नेपालभर बोयर जातका पाठापाठी उत्पादन गरी कृषकको माग पूरा गर्ने लक्ष्य राखेको अध्यक्ष बस्नेतले बताउनुभयो ।

परम्परागत रुपमा पालिएका स्थानीय बाख्राबाट जन्मेका खसीबोकाको वार्षिक सरदर तौल २५ केजीसम्म हुने तर बोयर जातका पाठापाठी पालन गर्दा एक वर्षमा ६० केजीभन्दा बढी हुने भएकाले यसबाट कृषकले राम्रो लाभ लिनसक्ने पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा उल्लेख छ ।

स्थानीय जातका बाख्रासँग बोयर जातका बोकाको क्रस विडिङ्ग गरी उत्पादनमा वृद्धि गर्न पनि सकिने बताइएको छ । नेपालमा खसीबोकाको उपलब्धता ज्यादै न्यून रहेको र यहाँ वार्षिक रुपमा करोडौँ रुपैयाँको खसीबोका भारतबाट आयात हुँदै आएको पाइन्छ ।

फर्मले मोरङको डाँगीहाटमा करिब २० बिगाहा जग्गामा नेपालकै सबैभन्दा ठूलो तथा आधुनिक खोर निर्माण गरी बाख्रापालन गर्दै आएका छन् । बाख्रालाई खुवाउनका लागि सो क्षेत्रमा फर्मले उन्नत जातका घाँस उत्पादन गरिएकोे, खमारी, कोइरालो, निमारो लगायतका खेतीसमेत गर्दै आएका छन् ।

कृषि फर्मका कार्यकारी अध्यक्ष रहनुभएका बस्नेत सर्वोच्च अदालतका पूर्वन्यायाधीश, निर्वाचन आयोगका पूर्वआयुक्त तथा बुद्ध एयरका प्रमुखसमेत हुनुहुन्छ ।

 

  • 59Read This News:
  • 484014Total reads:
  • 289567Total visitors: