अमेरिकामा “माइकल” आँधीबाट मर्नेको संख्या १७ पुग्यो

अमेरिका, २८ असोज २०७५ । अमेरिकामा माइकल नामको आँधीबाट मृत्यु हुनेको संख्या कम्तीमा १७ जना पुगेको छ । खोजी तथा उद्धार कार्य जारी रहेकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने अमेरिकी अधिकारीहरुले बताएका छन् ।

आँधीले फ्लोरिडा राज्य र त्यस वरपर ठूलो क्षति गरेको छ ।

फ्लोरिडा राज्यका गभर्नर रिक स्कटले “मेक्सिको बीच पूर्ण रुपमा उजाड भएको” बताउनुभयो । बुधबार यहाँ चौथो वर्गीकरणमा राखिएको विशाल आँधीले छोपेको थियो ।

“यहाँ त बम पड्किएझैं भएको थियो,” स्कटले भन्नुभयो । करिब एक हजार मानिस अझै बसिरहेको उक्त ठाउँको स्थलगत भ्रमण गरेर फर्किएपछि भन्नुभयो, “यो युद्धग्रस्त क्षेत्रजस्तै भएको देखिएको छ ।”

उद्धार टोलीहरुले शुक्रबार मेक्सिको बीचमा मानिस पत्ता लगाउने कुकुर समेत साथै लिएर खोजी गरिरहेका थिए । अमेरिकी सञ्चार माध्यमहरुले सहरमा एक जना वृद्धको मृत्यु भएको खबर प्रशारण गरेका थिए । ती वृद्ध व्यक्तिको शव घरबाट धेरै टाढा भेटिएको थियो ।

सङ्घीय आपतकालीन व्यवस्थापन निकाय (फेमा) का प्रमुख ब्रक लङले मृतक व्यक्तिको संख्या अझ बढ्न सक्ने बताउनुभयो ।

“मेरो आशा धेरै मानिसको मृत्यु नभए राम्रो हुने थियो, तर परिस्थिति हेर्दा ज्यादै प्रभावित इलाकाहरुमा खोजी कार्य बाँकी नै रहेकाले अरु केही व्यक्तिको मृत्यु हुन सक्ने खतरा छ,” उहाँले बताउनुभयो ।

मेक्सिको बीचका दर्जनौं घर, पसल र रेस्टुराँको जग नै उखेलिएको र त्यसलाई २५० किमी प्रतिघण्टाको बेगिलो हावाले उडाएर सयौं फिट टाढा पु¥याएको वा धुलोपिठो पारेको पाइएको छ । लङले भन्नुभयो, “आँधीको बितण्डाका बारेमा बताउने त्यहाँ वरपर मानिस समेत भेटिएका छैनन् ।”

स्थानीय अधिकारीहरुका अनुसार मेक्सिको बीचमा मानिसलाई अनिवार्य रुपमा घर छाड्न आदेश दिइएको थियो तर केही मानिसले अटेर गरेर घरमै बसेका थिए ।

फ्लोरिडाका सिनेटर मार्को रुबिओले भन्नुभयो, “अन्तिम क्षणमा केही मानिस घर छाडेर बाहिर निस्केका वा अन्यत्रै गएका हुन सक्छन् ।”

राष्ट्रपति डोनाल्ड ट्रम्पले आँधी प्रभावित फ्लोरिडा र जर्जियाको भ्रमण गर्ने योजना बनाएको बताउनुभयो । “मानिसहरुलाई जर्जियामा माइकल आँधीले कति प्रभावित तुल्यायो भन्ने समेत थाहा छैन,” ट्रम्पले ट्वीट गर्दै भन्नुभयो, “म अर्को साताको शुरुमै फ्लोरिडा र जर्जिया जाँदैछु । हामी सबै ठाउँमा काम गरिरहेका छौं । हामी तपाईंहरुकै साथमा छौं ।”

फ्लोरिडा प्यानह्यान्डलमा सन् १८५१ पछि यसपटकको “माइकल” नामको आँधी सर्वाधिक विनाशकारी रहेको बताइएको छ ।

पेन्टागनका अनुसार करिब पाँच हजार सेना र प्रहरीलाई राहत र उद्धारका लागि खटाइएको छ । यहाँ एक सय हेलिकप्टर र एक हजार ८०० पानीमा चल्ने उपकरण परिचालन गरिएको छ ।

 

  • 35Read This News:
  • 532307Total reads:
  • 335218Total visitors: