बाह्रदिनको बीचमा दुईजना बलात्कृत

रोल्पा, २२ फागुन २०७४ । रोल्पामा फागुन महिनामा मात्र १२ दिनको बीचमा छुट्टाछुट्टै स्थानमा एक किशोरी र एक महिला गरी दुईजना बलात्कृत भएको भन्दै पीडित पक्षबाट उजुरी परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले आज जनाएको छ ।

सुनछहरी गाउँपालिका फगाम रोल्पाका १७ वर्षीय किशोरले सोही गाउँपालिकामा पर्ने भित्री गामकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । इलाका प्रहरी कार्यालय सुलिचौर, रोल्पाका अनुसार किशोर र किशोरीका बीच ८÷९महिनादेखि टेलिफोनमा सम्पर्क हुँदै आएको थियो ।

यसरी टेलिफोनमा हुने कुराकानीका क्रममा किशोरले किशोरीलाई विभिन्न किसिमका प्रलोभनमा पारेर आफ्नो घरमै लगी बलात्कार गरेको पीडित किशोरीको जाहेरीमा उल्लेख छ । पीडित पक्षबाट इप्रका सुलिचौरमा गतः बुधबार निवेदन परेपछि प्रहरी टोली घटनास्थलमा पुगी विस्तृत जानकारी लिएको थियो । अनुसन्धानपश्चात आवश्यक कारबाहीका लागि प्रहरीले प्रक्रिया अगाडि बढाउने पनि जनाएको छ ।

यसैगरी, रुन्टीगढी गाउँपालिका रोल्पाकी २८ वर्षीया महिलालाई १८ देखि २४ वर्ष उमेर समूहका पाँचजना युवकले फागुन पहिलो साता सामूहिक बलात्कार गरेको भनी उजुरी परेको इलाका प्रहरी कार्यालय, होलेरी, रोल्पाले सोमबार राससलाई जानकारी दिएको छ । साँझ करिब ७ बजेतिर गाउँकै पसलबाट आवश्यक खाद्य सामग्री किनेर फर्कने क्रममा ती महिला बलात्कृत भएकी हुन् ।

इप्रका रोल्पाका प्रनानी खडकबहादुर डाँगीका अनुसार चारजना अभियुक्तलाई हाल प्रहरीले पक्राउ गरी आवश्यक कारबाहीका लागि हिरासतमा राखिसकेको छ भने एकजना फरार रहेका छन् । उनको खोजीकार्य तीव्र पारिएको छ । यसरी बलात्कृत भएकी महिलालाई योजनाबद्ध तरिकाले अभियुक्तले बोल्न कराउन नदिई बलात्कार गरेको अनुसन्धानका क्रममा खुलेको इप्रकाले जनाएको छ ।

इलाका प्रहरी कार्यालयमा जाहेरी दिएपछि घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिप्रका रोल्पाका मुद्दा फाँटका प्रहरी नायब निरीक्षक हेमन्त केसीले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै घटनाका अभियुक्तलाई म्याद थप गरी अनुसन्धानपश्चात आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाइनेछ ।

 

  • 15Read This News:
  • 417441Total reads:
  • 230197Total visitors: