मौसम परिवर्तनसँगै आँखाका बिरामी बढे

दाङ, २२ फागुन २०७४ । राप्ती आँखा अस्पताल, रक्षाचौर, दाङमा आँखाका बिरामी बढेका छन् ।

पछिल्लो केही दिनयता आँखाका बिरामीको संख्या ह्वात्तै बढेको अस्पतालले जनाएको छ । मौसम परिवर्तनसँगै आँखा रातो हुने, चिलाउने र आँखा बिजाउने समस्या भएका बिरामी बढी आउने गरेको अस्पतालले जनाएको छ ।

दैनिक २०० देखि २५० सम्म बिरामी यसअघि अस्पतालमा आउने गरेकोमा हिजोआज भने ३५० देखि ४०० सम्म आँखासम्बन्धी विभिन्न समस्या भएका बिरामी अस्पतालमा चेकजाँचका लागि आउने गरेको राप्ती आँखा अस्पतालका नेत्र अधिकृत शालीकराम गौतमले जानकारी दिनुभएको छ ।

आइतबार मात्र करिब ४०० भन्दा बढी आँखाका बिरामीले उपचार सेवा लिएको अस्पतालले जनाएको छ । सोमबार पनि अस्पतालमा बिहानैदेखि भिडभाड रहेको बताइएको छ । मौसम परिवर्तनसँगै आँखा सुक्खा हुने र हावाहुरीका कारण आँखामा धुलो परी एलर्जी हुने भएका कारण आँखामा विभिन्न समस्या देखापर्ने गरेको अस्पतालले जनाएको छ ।

त्यसैगरी, कुनै भाइरलको प्रकोप नभएता पनि मौसम परिवर्तनसँगै आँखाका बिरामी बढेका छन् । “पछिल्लो केही दिनयता आँखाका बिरामीको संख्या ह्वात्तै बढेको छ, ओपिडीमा दैनिक ३५० देखि ४०० सम्म बिरामीको आँखा चेकजाँच गर्ने गरेका छौँ” गौतमले भन्नुभयो । साथै, अस्पतालमा हाल नेत्र सहायक र नेत्ररोग विशेषज्ञलाई बिरामी हेर्न भ्याइनभ्याइ हुने गरेको उहाँले बताउनुभयो ।

अस्पतालले आँखामा समस्या देखिनासाथ अस्पतालमा आउन बिरामीलाई आग्रह गरेको छ । आँखा जस्तो संवेदनशील अंगको स्वास्थ्यमा लापर्बाही नगर्न अस्पतालले सबैलाई आग्रह गरेको छ । “आँखाको समस्या देखिनासाथ अस्पतालमा आउन आँखाका बिरामीलाई आग्रह गर्दछौँ,” नेत्र अधिकृत गौतमले भन्नुभयो ।

साथै, अस्पतालले दैनिक चार/पाँच पटक चिसोपानीले आँखा सफा गर्ने र धुलो तथा धुवाँबाट बचे आँखा चिलाउने र बिजाउने रोगबाट केही हदसम्म बच्न सकिने अस्पतालले जनाएको छ ।

 

  • 44Read This News:
  • 532362Total reads:
  • 335266Total visitors: