रसियाली नागरिकलाई अमेरिका सुपुर्दगी नगरिने: पुटिन

रसिया, २१ फागुन २०७४ । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपतीय निर्वाचन २०१६ मा निर्वाचनमा हस्तक्षेप गरेको भनी आरोप लागेका आफ्ना १३ नागरिकलाई अमेरिकासमक्ष सुपुर्दगी नगर्ने रसियाले जनाएको छ ।

तास नामक राज्य सञ्चालित रसियाली समाचार संस्थाले राष्ट्रपति पुटिनसँग हालै अमेरिकी एनबीसी टेलिभिजनलाई दिइएको एक अन्तर्वार्तामा उहाँको भनाई उद्धृत गर्दै भनेको छ, “विवादित रबर्ट मुलरको विशेष अनुसन्धानले रसियाको पक्षमा कुनै पनि हालतमा फैसला दिन्छ भन्ने विश्वास छैन ।”

उहाँले भन्नुभयो, “ मलाई जानकारी भए अनुसार उनीहरूले रसिया वा रसियाली अधिकारीलाई सोधपुछ गरेका छैनन् । उनीहरूले खास के गर्दै छन् मलाई थाहा छैन ।”

उहाँले अमेरिकी अनुसन्धान समूहलाई भन्नुभयो, रसियाली नागरिकको निर्वाचनमा हस्तक्षेपका लागि गरेका केही गलत कामका बारेमा विश्वसनीय आधार प्रस्तुत गर्न चुनौतिसमेत दिनुभयोे ।

पुटिनले भन्नुभयो, “उहाँहरू (अनुसन्धान समूह)लाई सञ्चारमाध्यमसँग वक्तव्यबाजी गर्न मात्र नदिऊ । उहाँहरूलाई रसियाली हस्तक्षेपबारे विश्वासिला (भरपर्दा) सामग्री, वस्तुगत आधारमा भएका व्याख्या तथा तथ्याङ्क उपलब्ध गराउन लगाऊँ । हामी आरोपबारे अनुसन्धानमा सहभागी हुन वा कुरा गर्न तयार हुनेछौँ ।”

गत महिना (सन् २०१८ को फेब्रुवरीमा) अमेरिकी न्याय विभागले १३ जना रसियाली नागरिक तथा तीन रसियाली संस्थालाई अमेरिकी राष्ट्रपतिको निर्वाचनमा हस्तक्षेप गरेको आरोप लगाएको थियो ।

आरोपितमध्ये रसियाली व्यवसायी येभगेनी प्रिगोझिन तथा सेन्ट पेटर्सवर्गस्थित इन्टरनेट अनुसन्धान संस्थाका १२ जनालाई मुलरको नेतृत्वमा भएको अनुसन्धान टोलीले ‘अमेरिका विरुद्ध छलकपट गरेको’ आरोप लगाएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उहाँको समूहले सन् २०१६ को राष्ट्रपतीय निर्वाचनका समय गैरकानूनी रूपमा रसियाली अधिकारीसँग सम्पर्क गरेको र आफ्नो पक्षमा निर्वाचन परिणाम पार्ने प्रयास गरेको भन्ने यस आरोपको निरन्तर खण्डन गर्दै आएका छन् ।

आरोपलाई मस्कोले पनि अस्वीकार गर्दै आएको छ ।

 

  • 31Read This News:
  • 460736Total reads:
  • 270181Total visitors: