सञ्चारकर्मी हरिसुन्दर छुकांको ‘चित्रजस्तो देश’ बालकविता सङ्ग्रह प्रकाशित

नगरकोट, १० फागुन २०७४ । विगत एक दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील सञ्चारकर्मी हरिसुन्दर छुकांको बालकविता सङ्ग्रह ‘चित्रजस्तो देश’ प्रकाशनमा आएको छ ।

पत्रकारिताका अलावा साहित्य क्षेत्रमा पनि निरन्तर कलम चलाउँदै आउनुभएका भक्तपुर चाँगुनारायण नगरपालिका–९, ताथलीका छुकांको पहिलो कविता सङ्ग्रहका रुपमा उक्त सङ्ग्रह प्रकाशित भएको हो । यसअघि उहाँको गजल सङ्ग्रह ‘हस्तााक्षरभित्रका अक्षरहरु….’ प्रकाशन भइसकेको छ ।

सञ्चारकर्मी छुकांको उक्त सङ्ग्रहलाई भक्तपुर सूर्यविनायकस्थित युथ सोसाइटी फर सोसियल वेलफेयर (वाइएसएसडब्ल्यू)ले प्रकाशन गरेको हो । प्रकाशक संस्थाका अध्यक्ष तुल्सीकुमार त्वायनाले बालसाहित्यले बालबालिकालाई चरित्रवान् र नैतिकवान् बनाउन सघाउने भएकाले सञ्चारकर्मी छुकांका कवितालाई प्रकाशनमा ल्याएको बताउनुभयो ।

“भोलिको समाजको स्वरुप आजका बालबालिकाले नै निर्धारण गर्ने तथ्यलाई मनन गरी बालबालिकालाई उचित दिशा निर्धारण गर्न सघाउने खालका कवितालाई सङ्ग्रहका रुपमा बजारमा ल्याउने काम गरेका हौँ”, अध्यक्ष त्वायनाले भन्नुभयो ।

उहाँका कवितामा घुम्न जाऔं न लौ, क–कलम, जानी राखे राम्रो, को ठूलो लगायतका शीर्षक रहेका छन् । बालबालिकाको दैनिकीका क्रममा देखेका, सुनेका, भोगेका, पढेका कुरालाई छुकांका कविताले कविताको विषय बनाएका छन् ।

बालबालिकाले मन पराउने विषयलाई कविताको विषय बनाएर लेखिएका कविता बालसुलभ पनि छन् । लेखक छुकां भन्नुहुन्छ, “बालबालिकालाई साहित्यको एक विधा कविता पढ्न, लेख्न उत्साहित गर्न सकिन्छ कि भन्ने उद्देश्यले सङ्ग्रह बनाएको हुँ, यसमा सङ्ग्रहित कविता विद्यार्थीका लागि कामलाग्दा छन्, शिक्षकलाई शिक्षण क्रियाकलापमा सहयोगी बन्न सक्छन् ।”

कक्षा ३ देखि कक्षा १० सम्म पढिरहेका विद्यार्थी र ७ वर्षदेखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गरी लेखिएका कविताको सङ्ग्रहमा ४० कविता सङ्ग्रहित छन् भने यसको मूल्य रु १२५ रहेको छ ।

 

  • 52Read This News:
  • 506966Total reads:
  • 310277Total visitors: