समानुपातिकका निर्वाचित उम्मेदवारको घोषणा प्रमाणपत्र शुक्रवार वितरण गरिने

काठमाडौँ, ३ माघ २०७४। निर्वाचन आयोगले मंसिर १० र २१ गते दुई चरणमा भएको प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित भएका उम्मेदवारको नाम घोषणा गरेको छ ।

निर्वाचनको मत परिणामअनुसार राजनीतिक दलले बन्दसूचीमा पेश गरी समावेशी सिद्धान्तअनुसार निर्वाचित भएको घोषणा गर्न सिफारिश गरेका उम्मेदवारमध्ये बाटै नाम घोषणा गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको आयोगको बैठकले सातवटै प्रदेशबाट समानुपातिक निर्वाचन प्रणालीतर्फबाट निर्वाचित हुने उम्मेदवारको नामावलीलाई टुंगो लगाएको हो ।

प्रदेशसभा सदस्य निर्वाचनमा सात वटा प्रदेशबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत जम्मा २२० जना उम्मेदवार निर्वाचित हुने व्यवस्था छ ।

दलहरुले प्राप्त गरेको मतलाई सेन्ट लग विधिबाट सिटमा रुपान्तरण गरी सिट यकिन गरेपछि राजनीतिक दलले छनोट गरी आयोगसमक्ष पठाएका उम्मेदवारलाई प्रदेशसभा सदस्यमा चयन गरिएको प्रवक्ता ढकालले जानकारी दिनुभयो ।

निर्वाचित उम्मेदवारको नामावली सम्बन्धित प्रदेश प्रमुखसमक्ष पठाउन, निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र प्रदान गर्न, सम्बन्धित राजनीतिक दललाई जानकारी गराउन तथा निर्वाचित उम्मेदवारको नामावली नेपाल राजपत्रमा अतिरिक्ताङ्क गरी प्रकाशन गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

प्रदेशसभाका समानुपातिकतर्फका निर्वाचित उम्मेदवारलाई आ–आफ्नो राजनीतिक दलसँग समन्वय गरी यही माघ ५ गते शुक्रबार दिनको १ः०० बजे आयोगमै प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम राखिएको छ । आयोगले निर्वाचित सदस्यलाई आयोगले नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र लिएर आउन भनेको छ ।

 

  • 27Read This News:
  • 440288Total reads:
  • 252184Total visitors: