कास्की, ३ माघ २०७४ पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३ भरतपोखरीमा क्रियाशील सुरक्षा बचत तथा ऋण सहकारी संस्था र पालुवा बहुद्देश्यीय सहकारी संस्था एकीकृत भएका छन् ।
सरकारले साना सहकारीबीच एकीकरणको नीतिलाई अघि बढाएको अवस्थालाईसमेत दृष्टिगत गरी समयसापेक्ष सेवालाई अझै प्रभावकारी बनाउने उद्देश्यका साथ दुवै संस्थालाई एकगरी सुरक्षा पालुवा बहुद्देश्यीय सहकारी संस्था लिमिटेड बनाइएको यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
संस्थाका अध्यक्ष टुल्कनाथ आचार्यका अनुसार दुई संस्थाबीचको एकीकरणपछि संस्थाको शेयर सदस्य १ हजार ९०१ जना रहेको छ । संस्थाको शेयर पूँजी रु ६ करोड ६२ लाख २५ हजार र बचत करिब रु ४१ करोड रहेको उहाँले जानकारी दिनुभयो ।
संस्थाको लगानी करिब रु ४३ करोड रहेको जानकारी दिँदै संस्थाका मुख्य व्यवस्थापक दीपक बानियाँले कूल कारोबार रु ५२ करोड भएको बताउनुभयो ।
कास्की जिल्लाभित्र विभिन्न ५ वटा शाखामार्फत सेवा प्रवाह गर्दै आएको सहकारी संस्थाले निकट भविष्यमा रु १ अर्ब कारोबार पु¥याउने लक्ष्य राखेको व्यवस्थापक विष्णुप्रसाद चापागाईंले जानकारी दिनुभयो ।
बचत तथा ऋण, मोबाइल बैंकिङ, एबिबिएस, स्वरोजगार कर्जा, लघुवित्त कर्जालगायतका सेवा प्रवाह गर्दै आएको संस्थाले ज्येष्ठ नागरिक सम्मान, स्वास्थ्य शिविरका साथै विभिन्न सामाजिक कार्यसमेत गर्दै आएको छ ।


