अलैँचीको मूल्य प्रतिमन रु ३५ हजारदेखि रु ३८ हजार

इलाम, १९ पुस २०७४ । एक/दुई वर्षदेखि निरन्तर ओरालो लागेको अलैँचीको मूल्य अहिले क्रमिक रूपमा बढ्दै गएपछि किसान हर्षित भएका छन् ।

प्रतिमन (४० किलो) रु १ लाख २० हजारमा अलैँची बिक्री गरेका किसान भाउ घटेपछि निराश बनेका थिए । तर दुई सातायता अलैँचीको भाउमा वृद्धि हुँदै जान थालेपछि किसान आशावादी बनेका छन् ।

यसभन्दा अघि अलैँची कारोबार भने ठप्प बनेको थियो । अहिले अलैँची प्रतिमन रु ३५ हजारदेखि रु ३८ हजार हाराहारीमा कारोबार भइरहेको छ । भाउ वृद्धि भएसँगै अलैँची कारोबारमा वृद्धि हुन थालेको छ ।

उचित मूल्यको पर्खाइमा रहेका किसानको अलैँची घरमै थन्किएको छ । “गत वर्षको तुलनामा भाउ बढ्दै गएपछि किसानमा केही आशा पलाएको छ”, फुएतप्पाका कर्णबहादुर राईले भन्नुभयो, “अलैँचीको भाउ नआउँदा एक वर्षदेखि गोदाममै थन्किएको थियो ।”

छिर्केफुर्के रोगले जिल्लामा धेरै अलैँची बगान मासिएको थियो । भाउ पाउने आशामा किसानले विभिन्न ठाउँबाट बिरुवा खरिद गरेर अलैँची रोपिरहेका छन् । किसानलाई जिल्ला कृषि विकास कार्यालयले पनि अनुदानमा अलैँचीका बिरुवा उपलब्ध गराउँदै आएको छ ।

अलैँची व्यवसायी संघका अध्यक्ष विजय खाकीले अलैँचीको मूल्यमा क्रमिक सुधार हुन थालेको बताउनुभयो । उचित मूल्य पाउने आशामा किसानले तीन-चार वर्षदेखि अलैँचीलाई गोदाममा थन्काएर राखेका छन् । यस वर्ष अलैँची कारोबार गत वर्षको तुलनामा आधा मात्र भएको जिल्ला कृषि कार्यालयले जनाएको छ । इलाममा आव २०७३-७४ मा एक हजार सात सय हेक्टर क्षेत्रफलमा ५७६ मेट्रिक टन अलैँची उत्पादन भएको थियो ।

 

  • 48Read This News:
  • 459430Total reads:
  • 268939Total visitors: