काठमाडौँ, २४ मंसिर २०७४ । चीनको शैक्षिक गतिविधिबारे जानकारी दिने उद्देश्यले काठमाडौँमा शनिवार देखि दोस्रो चिनियाँ शैक्षिक मेला शुरु भएको छ ।
आइतबारसम्म चल्ने मेलामा चीनका विभिन्न १६ वटा विश्वविद्यालयले शैक्षिक जानकारीमूलक कक्ष राखेका छन् ।
उक्त मेलाको एक कार्यक्रमकाबीच उद्घाटन गर्दै शिक्षा मन्त्रालयका सहसचिव हरि लम्सालले चीनमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई भरपुर जानकारी लिन मेला उपयोगी हुने बताउनुभयो ।
मेलामा नान्जिङ युनिभर्सिटी अफ एरोनोटिक्स एण्ड एस्ट्रोनोटिक्स, ज्याङसु युनिभर्सिटी, चाइना युनिभर्सिटी अफ माइनिङ एण्ड टेक्नोलोजी, सान्दोङ युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी, सान्दोङ नर्मल युनिभर्सिटी र चाइना युनिभर्सिटी अफ जिओ साइन्सेसबाट डीन, सहायक डीन र कार्यक्रम संयोजक आफैँ उपस्थित हुनुहुन्छ ।
मेलामा ३ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने अनुमान गरिएकोछ ।


